गृहपृष्ठ नेपालमा ७० अर्बको औषधि खपत
नेपालमा ७० अर्बको औषधि खपत
नेपालमा ७० अर्ब रूपैयाँबराबरको औषधि खपत हुने गरेको छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले नेपालमा ७० अर्ब रूपैयाँबराबरको औषधिको बजार रहेको बताएका हुन् ।
स्वदेशी विदेशी औषधि, औषधिको कच्चा पदार्थ र सर्जिकललगायतको मूल्य जोड्ने हो भने करिब ७० अर्बको बजार रहेको उनको भनाइ छ । विदेशबाट औषधि आयात गर्नेहरुको संस्था औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका नेपालमा वार्षिक २६ अर्बबराबरको औषधि आयात भइरहेको छ ।
औषधि व्यवस्था विभागले भने नेपालमा वार्षिक ३६ अर्बबराबरको औषधि खपत हुने अनुमान गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । विभागका महानिर्देशक नारायण ढकालका अनुसार त्यसमा विदेशबाट आयातित र स्वदेशमा उत्पादित औषधि समावेश छ ।
काठमाडौंमै धेरै विशेषज्ञसहितका कडा रोगको उपचार हुने, सेवा सुविधा र उपचारमा पहुँचको हिसाबले पनि देशभरबाट बिरामी आउने भएकाले काठमाडौंमा ठूलो परिणाममा औषधि खपत हुन्छ ।
नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । आयातित औषधिमध्ये ८० देखि ९० प्रतिशत भारतीय र बाँकी तेस्रो मुलुकबाट आउने गर्छ ।
विभागमा देशभर २१ हजार फार्मेसी दर्ता भएका छन् । पाँच हजारभन्दा बढी फार्मेसी बिनादर्ता सञ्चालन भएको हुनसक्ने नेपाल औषधि व्यवसायी संघका महासचिव विडारीको भनाइ छ ।
नेपालमा ९० वटा मानव औषधि उत्पादन गर्ने कम्पनी दर्ता भएका छन् । तीमध्ये हाल ७० वटा कम्पनीले औषधि उत्पादन गरिरहेको महासचिव विडारीको भनाइ छ ।
(रासस)
प्रकाशित समय १५:३९ बजे
















