गृहपृष्ठ भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण
भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण
बल्ल–तल्ल जोगिए निकोलस मडुरो
तस्बिर : गुगल
एक सैनिक कार्यक्रमलाई सम्बोधन गरिरहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरी ड्रोन हमला भएको छ । मडुरोले भाषण गरिरहेको स्थानमा उनीप्रति लक्षित आक्रमणबाट मडुरो भने सकुशल रहेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीप्रति लक्षित भए पनि राष्ट्रपति मडुरो सुरक्षित छन् । आक्रमणबाट मडुरोलाई कुनै प्रकारको क्षति नभएको अधिकारीहरुले जनाएका छन् ।
ड्रोन हमला हुँदा राष्ट्रपति मडुरो राजधानी कराकसमा भएको एक कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए । सोही समयमा उनलाई लक्षित गरी ड्रोन बिस्फोट गराइएको हो । आक्रमण हुँदा मडुरोको सम्बोधन टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो भने आक्रमणपछि भागदौडको स्थिति आएको थियो ।

सात जना सैनिक घाइते भएको उक्त आक्रमण राष्ट्रपति मडुरोको हत्या प्रयास भएको भेनेजुएलाका सञ्चार मन्त्री जर्ज रोड्रिगेजले बताएका छन् । कराकसको एक खुला मैदानमा भएको सैनिक कार्यक्रमलाई मडुरोले सम्बोधन गरिरहेका थिए । भिडियोमा देखाइए अनुसार सम्बोधनकै क्रममा मडुरो लगायत अचानक माथितिर हेर्न थाल्छन् र सोही समय प्रसारण बन्द हुन्छ ।
राष्ट्रपति लक्षित यस आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । आक्रमण लगत्तै मडुरो मन्त्री तथा सैनिक अधिकारीसँग बैठक गरेका छन् भने घाइते सैनिकलाई अस्पताल पुर्याइएको छ ।
ड्रोन आक्रमण लगत्तै घटनास्थलमा लागेको आगो ‘फायर फाइटर्स’ बोलाएर नियन्त्रण गरिएको थियो । भारतीय सञ्चारमाध्यम ‘आज तक’ले यस घटनाको विषयमा राष्ट्रपति मडुरोले विदेशी शक्तिलाई दोष दिएको समाचार प्रकाशित गरेको छ ।
राष्ट्रपति मडुरोलाई उदृत गर्दै आजतकले लेखेको छ, ‘यो मलाई मार्ने प्रयास थियो, आज उनीहरुले मेरो हत्या गर्ने प्रयास गरे ।’ गत मे महिनामा भेनेजुएलामा भएको निर्वाचनमा मडुरोले विजय हाँसिल गरेका थिए । उनीमाथि चुनावमा धाँधली गरेको आरोप पनि लागेको थियो ।
प्रकाशित समय १२:४० बजे

















