गृहपृष्ठ विदेशबाट सेयर किनबेच कसरी गर्ने ?
विदेशबाट सेयर किनबेच कसरी गर्ने ?
नेपालबाहिर रहेका नेपालीबाट दैनिकजसो म्यासेन्जरमा दुई-चारवटा म्यासेज आएको वर्षौं भइसक्यो । सेयरको अनलाइन कारोबार सुरु हुने समाचार आएसँगै म्यासेजको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उनीहरुको प्रश्नमा एउटा समानता पाउने गर्छु- नेपालबाहिर बसेर नेपालमा सेयर कारोबार कसरी गर्ने ?
उत्तर स्पष्ट त हुँदैनथ्यो र छैन पनि । तर, एउटा उपाय जुन सबैका लागि उपयुक्त नभए पनि धेरैलाई काम गथ्र्यो र अझै पनि गरिरहेको छ । अनलाइन कारोबारका लागि ब्रोकरले युजर नेम र पासवर्ड बाँड्न थाले पनि विदेशमा बस्नेहरुका लागि सहज भने छैन ।
मेरो सुझावअनुसार विदेश बसेर भए पनि धेरै नेपालीले केही पैसा सेयरमा लगानी गरिरहेका छन् । त्यो खुसीको कुरा हो । तर, यतिले मात्र पुग्दैन । धेरैले भनेको सुनिन्छ, नेपालको बजार विदेशीलाई पनि खुला गरिनुपर्छ । तर, मेरो विचारमा नेपालको सेयर बजार विदेशीलाई होइन, पहिला विदेशमा बसेका नेपालीसम्म पुग्न सक्यो भने त्यो नै ठूलो उपलब्धि हो र नियामकको प्राथमिकता यसमा केन्द्रित हुनुपर्छ ।
विवाहित भए नेपालमा भएका श्रीमान वा श्रीमतीलाई सेयरका बारेमा सिक्न तालिम केन्द्रमा पठाउने र उनीहरुको नाममा डिम्याट खाता खोलेर ब्रोकरमार्फत सेयरमा लगानी गर्न लगाउनु वा नेपाल गएका बेला सेयर कारोबारको सम्पूर्ण प्रक्रिया पूरा गरेर विदेश पर्किनु भन्ने मेरो सल्लाह हो । विदेशमा भए पनि सेयरको बारेमा ज्ञान भए परिवारका सदस्यलाई सल्लाह दिन सकिन्छ वा सल्लाह गरेर लगानी गर्न सकिन्छ । जहाँ बसेर पैसा कमाए पनि नेपाल पठाउन समस्या नभएपछि कतिपयले आफ्ना परिवारका अन्य सदस्यलाई सेयर सिकाएर भए पनि लगानीको इच्छा पूरा गरिरहेका छन् ।
यो त्यति सजिलो र विदेश बस्नेले चाहेअनुसार लगानी गर्न सक्ने माध्यम अवश्य होइन तर एउटा उपाय भने हो । अन्य सजिला उपायको खोजी र अनुसन्धान निरन्तर हुन आवश्यक छ । जसको पहल नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने हो तर अहिलेसम्म पाइला चालेको देखिँदैन । नेपालीहरु जहाँ भए पनि डिम्याट खाता र अनलाइन कारोबार खाता खोल्न सक्ने सहज व्यवस्था गर्न सकिए विदेशी नागरिक होइन, विदेशमा भएका नेपालीसम्म सेयर कारोबार पुर्याउन सकिन्थ्यो । यसका लागि एउटा उपायका रुपमा रेमिट्यान्स कम्पनीमार्फत बैंक खाता र डिम्याट खाता खोल्न सकिने व्यवस्था गर्न सकिन्छ ।
सेयरको सम्पूर्ण कारोबार बैंकबाट हुने भएपछि धितोपत्र बोर्डले सोही बैंक खाताको विवरणलाई सेयर लगानीकर्ताको ग्राहक परिचय विवरण बनाउन सक्ने व्यवस्था गर्नुपर्छ । यसो गर्नसके विदेशमा भएका धेरै नेपाली सेयर बजारसँग सजिलै जोडिन सक्छन् ।
धेरै नेपाली बैंक खाता खोलेर विदेश गएका हुन्छन् । सोही बैंक खाता खोल्दाको विवरण जस्तो नागरिकताको फोटोकपी, दस्तखत, ठेगानालाई आधार बनाएर डिम्याट खाता र अनलाइन कारोबार खाता खोल्न सकिने नियम बन्नुपर्छ । सेयरको सम्पूर्ण कारोबार बैंकबाट हुने भएपछि धितोपत्र बोर्डले सोही बैंक खाताको विवरणलाई सेयर लगानीकर्ताको ग्राहक परिचय विवरण बनाउन सक्ने व्यवस्था गर्नुपर्छ । यसो गर्नसके विदेशमा भएका धेरै नेपाली सेयर बजारसँग सजिलै जोडिन सक्छन् ।
यस्तै विदेशबाट फर्किएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै डिम्याट खाता खोल्ने प्रक्रिया र अनलाइन कारोबारबारे सूचना दिन सकियो भने यसको संख्या अझ बढ्न सक्छ । किनकि, उनीहरु पुनः विदेश फर्किंदा सेयर कारोबारको सम्पूर्ण प्रक्रिया पूरा गरेर फर्कन्छन् र विदेशमै बसेर केही न केही पैसा नेपालको सेयर बजारमा लगानी गर्छन् । यसका लागि डिम्याट खाता खोल्न लाइसेन्स लिएका र विदेशबाट रेमिट्यान्स भित्र्याइरहेका बैंकले पहल गर्दा राम्रो हुन्छ, जसलाई धितोपत्र बोर्डले प्रोत्साहन गर्नुपर्छ । विदेशबाट फर्केर आएकाहरुका लागि निःशुल्क डिम्याट खाताको योजना ल्याइएमा तथा रेमिट्यान्स कम्पनीका विदेशमा खोलिएका शाखाबाटै यसको जानकारी दिइएमा प्रवासी नेपालीसमक्ष सेयर बजारको पहुँच बढ्न सक्छ ।
सरकारका मन्त्री, नियामक तथा नीति-निर्माताले बेला-बेला भन्ने गर्छन्- वैदेशिक रोजगारीमा गएकाहरुको पैसा उत्पादनमूलक क्षेत्रमा जान सकेन, उपभोगमै खर्च भयो । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा पुर्याउन सहज माध्यमको विकास गरिनुपर्छ, जसमध्ये सेयर बजार एक हो । उदाहरणका लागि जलविद्युत् कम्पनीको प्राथमिक सेयरमा लगानी गर्ने अवसर प्रदान गर्नु । अहिले माथिल्लो तामाकोशीको सेयर निष्कासन भइरहेको छ । तर, त्यही सेयरमा प्रवासी नेपालीलाई लगानी गर्न प्रोत्साहन र अवसर प्रदान गर्ने नीति सरकार, धितोपत्र बोर्ड तथा यसको बिक्री प्रबन्धकले लिएको देखिँदैन ।
ऊर्जा मन्त्रालय र धितोपत्र बोर्डबीच समन्वय हुन नसक्नु यसको ठूलो कमजोरी हो । विदेशमा रहेका नेपालीको लगानी ऊर्जा क्षेत्रमा बढाउन ऊर्जा मन्त्रालय र बोर्डको समन्वय हुन आवश्यक छ । विदेशमा बसेकाहरुले तामाकोशीको सेयरमा पैसा लगानी गर्न पठाएको पैसाको शुल्क सरकारले व्यहोर्ने व्यवस्था गरेको भए लगानी बढ्न सक्थ्यो ।
अहिले माथिल्लो तामाकोशीको सेयर निष्कासन भइरहेको छ । तर, त्यही सेयरमा प्रवासी नेपालीलाई लगानी गर्न प्रोत्साहन र अवसर प्रदान गर्ने नीति सरकार, धितोपत्र बोर्ड तथा यसको बिक्री प्रबन्धकले लिएको देखिँदैन ।
यसअघिका ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युतमा सर्वसाधारणको लगानी प्रतिबद्धता माग्न एउटा वेबसाइट बनाए । अनुसन्धान, पूर्वाधार र कानुनी आधारबिनाको त्यो एउटा हावादारी योजना थियो । जनतालाई पहिला पहुँच र सुविधा दिनुपर्छ । त्यसपछि यस्ता योजनाले परिणाम दिन्छन् । उनीहरुले लगानी गरेको सेयर सजिलै बजारमा बेच्न सकिने र खातामा लाभांश आउने निश्चितता पनि चाहिन्छ । विदेशमा बसेका नेपालीबाट प्रतिबद्धता मागिएला तर सेयर खाता खोल्न नेपाल पुग्नुपर्ने अवस्था आएमा उनीहरुको प्रतिबद्धताले परिणाम दिन सक्दैन ।
यस्तै, अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको चाहना पनि हरेक नेपालीको घरमा केही कित्ता सेयर होस् भन्ने देखिन्छ । यो सकारात्मक सोच हो तर त्यसका लागि सुविधा र पहुँच खोइ ? भन्ने प्रश्न उठ्छ । हरेक नेपालीको घरमा केही कित्ता सेयर हुन पहिला स्वदेश तथा विदेशमा भएका हरेक नेपालीसँग बैंक खाता, डिम्याट खाता र अनलाइन कारोबार खाताको पहुँच पुर्याउन सक्नुपर्छ । यसो गर्न सकिएमा बिदेसिएकाहरुले बैंक खातामा रेमिट्यान्स पठाउँछन्, त्यही पैसाले बैंकमार्फत नै (आस्वा प्रणाली मार्फत) सेयर आवेदन दिन्छन् र चाहेअनुसारको कम्पनीको सेयर अनलाइनमार्फत आफैं वा ब्रोकरलाई आदेश दिएर किनबेच गर्न सक्छन् । यसो गर्न सके हुन्डीमार्फत हुने कारोबारमा कमी आउँछ, रेमिट्यान्स बढ्छ भने अनुत्पादक क्षेत्रमा गइरहेको रेमिट्यान्स केही भए पनि उत्पादनमूलक क्षेत्रमा जान सहयोग पुग्छ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)
प्रकाशित समय १२:३४ बजे

















