गृहपृष्ठ प्रधानमन्त्रीले भेट गर्न डा. केसीलार्इ बालुवाटार बाेलाए
प्रधानमन्त्रीले भेट गर्न डा. केसीलार्इ बालुवाटार बाेलाए
सम्झाैता कार्यान्वयनकाे विषयमा छलफल हुन्छ : अर्याल
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीलाई शनिबार भेट्ने भएका छन् । प्रधानमन्त्रीले भेटका लागि डा. केसीलार्इ बालुवाटरमा बाेलाएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटकको अनसन सरकारसँगको सहमतिपश्चात हालै तोडेका डा. केसीले पुनः अनसन बस्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले उनीसँग भेट्न लागेका हुन् ।
डा. केसीले अफूसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दवाव दिँदै आएका छन् । उनले त्यसो नगरे १६ औं पटक अनसन बस्न वाध्य हुने चेतावनी सरकारलाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले भेटका लागि डा. केसीलाई शनिबार विहान ११ बजेको समय दिएका छन् । सरकारले डा. केसीसँग ९ बुँदे सहमति गरी उनको अनसन तोडाएको थियो । सोही सहमति अनुरुप चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता भएको छ भने सहमतिका अन्य विषय कार्यान्वयन गर्न बाँकी छ ।
सरकारसँगको वार्ताका क्रममा डा. केसीका तर्फबाट प्रतिनिधि रहेका अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्रीसँगको भेटमा सम्झौता कार्यान्वयनको विषय उठाइने बताए । ‘सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने सम्बन्धमा छलफल हुन्छ’ अर्यालले न्युज कारोबारसँग भने । उनका अनुसार डा. केसीसँगै, अभिसेक सिंह, सुरेन्द्र भण्डारी र अर्याल प्रधानमन्त्री सँगको छलफलमा सहभागी हुनेछन् ।
प्रकाशित समय ०८:५१ बजे

















