गृहपृष्ठ विश्व बैंकले सहायता रकम दोब्बर बढाउँछ : अर्थमन्त्री

विश्व बैंकले सहायता रकम दोब्बर बढाउँछ : अर्थमन्त्री

arthamantri-newskarobar फाइल तस्बिर

 

विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । अमेरिकाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गरे । बैंकले नेपालमा हाल करिब दुई अर्ब ७० करोड डलर अर्थात दुई खर्ब ७० अर्ब रूपैयाँबराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको छ ।

अर्थमन्त्री खतिवडा सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन साउन १८ गते अमेरिका गएका थिए । सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो । सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ ।

‘हामीले समग्र कार्यक्रम र योजनाको ढाँचा तयार पारेका छौं । त्यसको लागत अनुमान पनि भएको सन्दर्भमा सहायता दोब्बर हुन्छ भनेर हामीलाई बताउनुभएको छ,’ अर्थमन्त्री डा. खतिवडाले भने ।

नेपालले भूकम्पपछिको पुनःनिर्माणका लागि समेत सो बैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ । यस्तै, केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजेको छ । संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न पनि विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाले जानकारी गराए ।

अर्थमन्त्री खतिवडाले साउन २२ गते बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । अर्थमन्त्री र विश्व बैंकका दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरबीच पनि भेटवार्ता भएको थियो ।

त्यस्तै, विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरी ऊर्जा क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने लगानीबारे चासो राखेका थिए । भ्रमणका क्रममा अर्थमन्त्री डा. खतिवडा र बैंकका कार्यबाहक प्रमुख अर्थशास्त्री शान्ता देवराजनबीच पनि कुराकानी भएको थियो ।

तीन दिनसम्म चलेको बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलको सहभागिता थियो ।

भ्रमणका क्रममा अर्थमन्त्री र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग तथा  अन्तर्राष्ट्रिय मुद्राकोषका पदाधिकारीबीच पनि भेटवार्ता भएको थियो । त्यस्तै, अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा विश्व बैंकमा ‘नेपाल डे’ पनि मनाइएको थियो । विश्व बैंक समूह र अमेरिकास्थित दातृनिकायका प्रतिनिधि पनि सो कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु