गृहपृष्ठ १६५ वर्ष पुरानो मुलुकी एेन विस्थापित गर्दै आजदेखि नयाँ संहिता कार्यान्वयनमा
१६५ वर्ष पुरानो मुलुकी एेन विस्थापित गर्दै आजदेखि नयाँ संहिता कार्यान्वयनमा
‘इतिहासदेखि वर्तमानसम्म नालिबेली’
जंगबहादुर राणाले निर्माण गरेको मुलुकी ऐन विस्थापित गर्दै आजदेखि नयाँ कानुन लागू भएको छ । एक सय ६५ वर्षअघि बनाइएको कानुन विस्थापित गर्दै नयाँ कानुन नयाँ संहिता लागू गरिएको हो ।
मुलुक आधुनिकतातर्फ प्रवेश गरेकाले पुराना परिवेशअनुसारका दफाहरु परिमार्जन गर्दै पाँचवटा संहिता बनाइएको छ । पाँच संहिताअन्तर्गत मुलुकी अपराध संहिताअन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन छन् ।
ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ । यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।
अघिल्लो संसदले गत भदौमा पारित गरेको संहिता एक वर्षपछि आजदेखि औपचारिक रुपमा लागू भएको हो । आजबाट लागू भएको संहिताले नेपाली कानुन क्षेत्रमा ऐतिहासिक परिवर्तन गरेको विज्ञहरु बताउँछन् । अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा भएकाले अहिलेको परिर्वतनलाई सम्बोधन गर्ने तत्कालीन समयमा संहिताको समिति, उपसमितिका सदस्यहरु बताउँछन् । अहिले प्रतिस्थापन ऐनका रुपमा आएको यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ । केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटेको छ ।
यस्तो छ मुलुकी ऐनको इतिहास
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा कानुन बनाएका थिए । जसलाई ‘मुलुकी ऐन’ भनिएको थियो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका थिए । त्यसको एक सय १० वर्षपछि २०२० सालमा तत्कालिन परिस्थितिअनुसार संशोधित गरियो । सो संशोधित मुलुकी ऐनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन २०२८ सालमा कानुन आयोग गठन गरियो । फौजदारी कानुनलाई एकीकृत गरी फौजदारी कानुनका सैद्धान्तिक र व्यावहारिक पक्षलाई चुस्त बनाउने उद्देश्यले कानुन आयोगले २०३० सालमा अपराध संहिताको मस्यौदा ल्यायो । तर त्यसले पनि ऐनको रूप पाउन सकेन ।
त्यसपछि विज्ञान र प्रविधिको विकाससँगै क्रमशः अपराधमा पनि प्रविधि प्रयोग हुन थाल्यो र संगठित अपराधले प्रवेश पायो । २०२० सालमा सशोधन गरिएको मुलुकी ऐनमा भएका अपराधहरुको विकास भए । प्रविधिको विकास विस्तार र आधुनिकतासँगै अपराधले आधुनिक रुप लिँदै गयो त कानुन पुरानै भएपछि थप संशोधनको आवश्यक पर्याे । जसलाई दृष्टिगत गर्दै परिवर्तित सन्दर्भ अनुकूलको फौजदारी संहिता बनाउन तत्कालीन समयअनुसार विभिन्न प्रयास भए ।
त्यही प्रयासअन्तर्गत नै २०५८ सालमा महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरियो । कार्यदलले मस्यौदा निर्माण गरे पनि ‘अपराध संहिता तथा फौजदारी कार्यविधि संहिताको मस्यौदा २०५८’ ले पनि संसदमा छलफल भएर कानुनको रुप लिन पाएन । छलफलकै चरणमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेपछि त्यो ऐन बन्न नपाएको हो । देउवाले संसद विघटन नगरेको भए यो यो कानुन त्यतिबेला नै आउने थियो ।
यसरी आयो नयाँ संहिता
२०६२÷६३ को मुलुकमा ऐतिहासिक परिवर्तन भयो । जनआन्दोलन र अन्तरिम संविधानको भावनालाई समेट्दै नया कानुन ल्याउनुपर्ने आवश्यकता देखियो । द्वन्द्वको जटिलताबाट सिर्जित आपराधिक मनोविज्ञान र झाँगिदो संगठित अपराध नियन्त्रण गर्ने व्यवस्थासहितको नयाँ संहिताको ल्याउन कार्यदल गठन गरियो ।
२०६५ साल मंसिर १८ गते गठित कार्यदलमा तत्कालीन समयका सर्वोच्चका न्यायाधीश रहेका कल्याण श्रेष्ठ संयोजक थिए । फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदलले फैजदारी कानुनको मस्योदा तयार गर्याे । पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी संयोजक रहेको देवानी कानुन सुधार तथा परिमार्जन कार्यदल समेत गठन भयो । दुवै कार्यदलले २०६७ सालमा मस्यौदा बुझाए ।
त्यही मस्यौदामाथि सरोकारवाला सबै पक्षसँग लगातार छलफल भई अघिल्लो संसदले गएको साल भदोमा पारित गरेको हो । पारित भएको वर्षदिनपछि कार्यान्वयनमा आएको मुलुकी संहितामा ६० प्रतिशत मुलुकी ऐनका व्यवस्था नै छन् । २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजिर र बाँकी २० प्रतिशत अन्तराष्ट्रिय अभ्यास समेत हेरेर तयार गरिएको छ ।
प्रकाशित समय ०७:३३ बजे

















