गृहपृष्ठ धनगढी उपमहानगरको सवा करोड ‘बालुवामा पानी’

धनगढी उपमहानगरको सवा करोड ‘बालुवामा पानी’

तालिम लिनेको सूचीमा जनप्रतिनिधिदेखि विद्यार्थीसम्म

dhangadi-newskarobar

 

धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेको सीपमूलक कार्यक्रम बालुवामा पानी बराबर भएको छ । सीपमूलक तालिम लक्षित वर्गभन्दा बजेट सक्नमा केन्द्रित गरिएपछि एक करोड २५ लाख बजेट खेर गएको हो ।

 विभिन्न शीर्षक दिएर सञ्चालन गरिएका २० भन्दा बढी तालिममा नगर क्षेत्रका ४ हजार ३ सय ४० जनालाई सहभागी गराइएको थियो । वडा कार्यालयमार्फत सञ्चालन गरिएका लक्षित वर्गका विभिन्न कार्यक्रम परिणाममुखी नभएपछि लगानी बालुवामा पानी जस्तै भएको छ ।

 नगर क्षेत्रका ४३ सय जनालाई आर्थिक विकास, क्षमता विकास र सीप विकाससम्बन्धी तालिममा प्रदान गरेको थियो । तर, सीप सिकेपछि कतिले सदुपयोग गरे भन्ने कुराको कुनै लेखाजोखा छैन । चार हजारभन्दा बढिलाई सीप विकास, क्षमता विकास र आर्थिक विकाससम्बन्धी विभिन्न तालिम दिइए पनि त्यसबाट के–कति व्यक्ति आत्मनिर्भर भए वा व्यावसायिक बने भन्ने तथ्यांक उपमहानगरसँग छैन । तथ्यांक प्राप्त गर्न विस्तृत अध्ययन आवश्यकता पर्ने हुँदा तत्कालै कति जना व्यावसायिक बने भन्ने कुरा भन्ने नसकिने उपमहानगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख टंक विष्ट बताउँछन् ।

धनगढी उपमहानगरपालिकाका केही वडामा गरिएको अध्ययनका क्रममा झन्डै ९५ प्रतिशत व्यक्तिले आफूले सिकेको सीपलाई व्यावसायिकता दिन नसकेको पाइएको छ । बेमौसमी तरकारीखेती तालिम लिएका तीन सय ६६ जनामध्ये २० जनालाई प्रश्न गर्दा एकदुर्इ जना बाहेक अरुले सीप सदुपयोग गर्न नसकेको बताए ।

प्राथमिकताभन्दा पनि पहुँचकै भरमा सहभागी छनौट गरिएपछि लक्षित वर्गसम्म सीपमूलक तालिम पुग्न सकेको देखिएको छैन । सीपमूलक तालिम पाएकाहरुको सूचीमा जनप्रतिनिधिकै नाम पनि भेटिएको छ भने अधिकांशले आफूले गरिरहेको पेसाभन्दा अन्य पेसा गर्नका लागि सीपमूलक तालिम लिएको भेटिएको छ । जनप्रतिनिधिले आफूनिकटका संघ-संस्थालाई कार्यक्रम दिएर बजेट सक्ने मेसोमात्र बनाएका कारण यस्तो स्थिति आएको स्थानीयको आरोप छ । बजेट सक्न अधिकांश वडाले स्कुले विद्यार्थीलाई तालिम दिएका छन् ।

 एक महिने ब्युटिपार्लर तालिममा सहभागी वडा नम्बर २ की दीपा भट्टले पढाइ भएका कारण सीपलाई व्यावसायिकता दिन नसकिएको बताइन् । लक्षित वर्गका कार्यक्रम जनप्रप्रतिनिधिका लागि कार्यकता खुसी पार्ने माध्यम बनेपछि उपहानगरपालिकाका ४ हजार जनामा गरिएको एक करोड २५ लाखको लगानी बालुवामा पानी जस्तै भएको छ । जसले गर्दा धनगढीको श्रमबजार अहिले पनि भारतलगायतका देशको भरमा सञ्चालन भईरहेको छ ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु