गृहपृष्ठ निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न एकजना पक्राउ
निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न एकजना पक्राउ
गत साउन ११ गते हत्या गरेर फालिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्ट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले भीमदत्त नगरपालिका-१९, बाँगफाँटाका विष्टलाई पक्राउ गरेको हो ।
विष्ट यसअघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । पक्राउ परेका विष्टलाई म्याद थप गर्न कञ्चनपुर जिल्ला अदालतमा लगिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार पक्राउ परेका विष्टले बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । ‘१० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि मैले मिलाइदिएँ अनि कोही नभएको देखेपछि उखुबारीमा लगेर बलात्कार गरें । बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले मैले हत्या गरेको हुँ,’’ अभियुक्तको बयान उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने ।
अविवाहित विष्टलाई प्रहरीले दुई दिनअघि नै पक्राउ गरेको भए पनि सार्वजनिक नगरी अनुसन्धान गरेको थियो । ‘प्रारम्भिक अनुसन्धानबाट विष्टको संलग्नता पुष्टि भएको छ, बाँकी अनुसन्धानकै क्रममा छौं,’ एक प्रहरी अधिकारीले भने । गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका ल्याउन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला १८ वडामा रहेको साथी रोश्नी बमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत फेला परेकी थिइन् । उनको हत्यापछि कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् । अधिकारकर्मीहरु पछिल्लो २ दिनयता रिले अनसनमा छन् ।
प्रकाशित समय १७:३२ बजे

















