गृहपृष्ठ नेपाली चिकित्सकलाई ओपन हार्ट सर्जरीमा ‘दुर्लभ’ सफलता
नेपाली चिकित्सकलाई ओपन हार्ट सर्जरीमा ‘दुर्लभ’ सफलता
खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी)का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको हालसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी मुटु रोगका क्षेत्रमा नयाँ उपलब्धि प्राप्त भएको जनाएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ उपप्राध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया गर्भवती प्रमिला अर्यालको शुक्रबार मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
अर्याल ३७ हप्ताकी गर्भवती थिइन् । शल्यक्रियापछि अहिले आमा र शिशु (छोरा) दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको डा. भट्टराईले जानकारी दिए ।
उनका अनुसार बिरामी अर्याललाई टाइप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो । यो अति दुर्लभ रोग हो । यो रोग लागेपछि बिरामी बाँच्ने सम्भावना अत्यन्तै न्यून हुन्छ ।
सेन्टर स्थापना भएपछि नौ वर्षको अवधिमा सो रोग लागेका बिरामीको पहिलो पटक यस प्रकारको शल्यक्रिया सफलतापूर्वक सम्पन्न हो । वरिष्ठ मुटु रोग विशेषज्ञ उपप्राध्यापक डा. भट्टराईले भने, ‘नवजात शिशु जन्मिँदा बेहोस थियो, तीन घण्टापछि शिशुको होस आएको छ, आमालाई अहिले भेन्टिलेटरबाट छुट्याएर आइसियूमा सारिएको छ ।’
आमा र बच्चा दुवै बचाउन सफल भएकामा खुशी व्यक्त गर्दै डा. भट्टराईले भने, ‘यो मेरो जीवनको अतिस्मरणीय र ऐतिहासिक सफलता हो, यस्तो दुर्लभ रोग लागेका बिरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा आफूलाई खुशी लागेको छ, म मेरो टिमलाई धन्यवाद भन्न चाहन्छु ।’
सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले दुर्लभ रोग लागेको बिरामीको सफल शल्यक्रिया सम्पन्न गरेर आमा र शिशु बचाउन सफल भएकामा खुशी व्यक्त गर्दै ओपन हार्ट सर्जरीका क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता प्राप्त गरेको बताए ।
उक्त शल्यक्रियामा डा. भट्टराईका साथमा डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी थिए । यसैगरी एनस्थेसियातर्फ डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ तथा गाइनोकोलोजीमा डा. ज्योति शर्मा, डा. बेखालक्ष्मी मानन्धर, डा. सुनिति रावल, डा. सुनिता बज्राचार्य र डा. सुभाना मास्के सहभागी थिए ।
त्यस्तै बालरोग विशेषज्ञ डा. प्रदीप पौडेल र डा. कविता मानन्धर उपचारमा संलग्न भएको सेन्टरले जनाएको छ ।
मुटुरोग विशेषज्ञ डा. भट्टराईले सामाजिक सेवामा सक्रिय रही असहाय, गरीब तथा दुर्गमका मुटुरोगीको निःशुल्क उपचार गरेका छन् । हालसम्म उनले ९० भन्दा बढी बिरामीको निःशुल्क मुटुको शल्यक्रिया गरिसकेका छन् ।
-रासस
प्रकाशित समय २०:२५ बजे

















