गृहपृष्ठ काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै
काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै
फाइल तस्बिर
काठमाडौंको फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नुवाकोटको सिसडोल फोहर व्यवस्थापन विर्सजन स्थल (ल्याण्डफ्रिल्ड साइट) भरिइसकेकाले अब शहरमा दैनिक निस्कने ५०० टन फोहर कहाँ फाल्ने भन्ने समस्या उत्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाले शुक्रबार आयोजना गरेको ‘फोहरमैला व्यवस्थापन र विद्यमान ऐन कार्यान्वयन’ विषयक कार्यशालाका वक्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा सिसडोल भरिएका कारण फोहर व्यवस्थापनबारे जनतालाई जनचेतना जगाउनुपर्ने, हानिकारक फोहरमैलाको व्यवस्थापन, ऐन कार्यान्वयन र फोहर व्यवस्थापनको प्रतिबद्धता हुुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार, महानगरपालिका, निजी क्षेत्र तथा स्थानीयवासीको सामूहिक प्रयासबाट मात्र यो समस्या निराकरण गर्न सकिने बताए । मन्त्री बस्नेतले शहरी क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए ।
प्रतिनिधि सभाका सदस्य नवराज सिलवालले काठमाडौंमा जनसंख्या वृद्धिसँगै फोहर व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गरे । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापन चुनौतीपूर्ण भएकाले सबै पक्षको सहयोगका लागि आग्रह गरे । काठमाडौंलाई सफा तथा सुन्दर बनाउन काठमाडौंवासीलाई सहयोग गर्न उनको आग्रह थियो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले नगरपालिका आफ्नो क्षेत्रको फोहर व्यवस्थापनमा आफैँ लाग्नुपर्ने, फोहर व्यवस्थापन योजना बनाउनुपर्ने, फोहर फाल्नका लागि नागरिक आचारसंहिता बनाउनुपर्ने सुझाव दिए । प्रदेश नं ३ का प्रदेशसभा सदस्य माधव पौडेलले फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेकाले महानगरपालिका गम्भीर भई स्थायी फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
रासस
प्रकाशित समय २०:३५ बजे

















