गृहपृष्ठ भीम रावलले भने- सरकारकाे काम सराहनीय

भीम रावलले भने- सरकारकाे काम सराहनीय

bhim-rawal-parliament-newskarobar फाइल तस्बिर

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कञ्चनपुर घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेर सरकारले ठीक गरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा पूर्व गृहमन्त्री रावलले जनताको भावनालाई सम्मान गर्दै आवश्यक व्यक्तिहरुको सरुवा गर्ने कार्य सराहनीय भएकोसमेत उल्लेख गरे ।

भीम रावल नेकपाका प्रभावशाली नेता हुन् । विशेषतः पश्चिम नेपालमा उनको बलियो पक्कड र प्रभाव छ । त्यसैले पश्चिम नेपालका घटनाक्रममा रावलका अभिव्यक्तिले महत्वपूर्ण अर्थ राख्छ । केही दिन पहिले मात्र उनले एक अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिले कञ्चनपुर तातेको थियो । उनको त्यो अभिव्यक्ति पश्चिम नेपालमा तीव्र विवादमा परेको थियो ।

आइतबारको प्रतिनिधि सभा बैठकमा उनले सही निर्णय गरेकामा सरकारलाई धन्यवाद समेत दिए । उनले कञ्चनपुर घटनाको अनुसन्धानमा कुनै कमी हुन नदिन गृहमन्त्रालयको ध्यानाकर्षण गराए । नेकपाको तर्फबाट घटनाको निन्दा गर्दै छानविनले तदारुकता पाउनेमा विश्वास व्यक्त गरे ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा कञ्चनपुर घटनाका दुवै मृतकका परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका सन्नी खुनाको परिवारलाई राहत दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो । रावलले सोही निर्णयलाई सराहनीय कार्य भनेका हुन् ।

प्रकाशित समय १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु