गृहपृष्ठ नेपाल आईडलको दाबी – हाम्रो तुलना कोहीसँग हुन सक्दैन

नेपाल आईडलको दाबी – हाम्रो तुलना कोहीसँग हुन सक्दैन

 

इन्टरनेसनल फ्रेन्चाईज शो नेपाल आईडलले आफ्नो तुलना अरु कुनै शोसँग हुन नसक्ने दाबी गरेको छ । एपी वान एचडी टेलिभिजनबाट विहीबार र शुक्रबार प्रशारण हुँदै आएको सो कार्यक्रमले आफ्नो प्रतिस्पर्धा आफैसँगमात्र भएको बताएको हो । एपी वान एच डीको प्रस्तुतीमा रहेको नेपाल आईडलको हाल दोस्रो संस्करण चलिरहेको छ । एक साताअघि नेपाल आईडलजस्तै ईन्टरनेसनल फ्रेन्चाईज शो अर्काे टेलिजिनबाट प्रशारण हुन थालेपछि नेपाल आईडलले विज्ञप्ति निकालेर आफू अरु शोभन्दा फरक र अग्रणी रहेको बताएको हो ।

कान्तिपुर टेलिभिजन र डिस होमको रमाईलो च्यानलमार्फत ‘द भ्वाईस अफ नेपाल’ प्रशारण सुरु भएको छ । टेलिभिजन हेर्ने दर्शक कम भईरहेको अवस्थामा आफूहरुले ‘नेपाल आईडल’ सुरु गरेसँगै दर्शक पनि बढेको नेपाल आईडलको दाबी छ । नेपाल आईडलको टिमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो शोको तुलना अरु कुनै शोसँग हुनै सक्दैन, न प्रतिस्पर्धा नै । प्रतिस्पर्धा छ त आफैसँगमात्र । नेपाल आइडल प्रसारण हुने दिन, खास गरि विदेशमा रहेका दर्शक युट्यूबमा हजाराँैको संख्यामा प्रतिक्षारत हुने गर्दछन । दशाँै हजार करेन्ट भ्यूअर प्रतिक्षारत रहने एकमात्र नेपाली शो नेपाल आइडल नै हो ।’

गतहप्ताको कार्यक्रम युवटुवको करेन्ट भ्यूअरशीप ४२ हजारसम्म पुगेको बताउँदै उसले यसलाई एतिहासिक उपलब्धि ठानेको छ । नेपालमा अहिलेसम्मकै ठूलो रियालिटी शोले संसारभर छरिएर बसेका लाखौँ नेपालीको मन जितेको नेपाल आईडलको दाबी छ । टेलिभिजनबाट टाढिइसकेका नेपाली दर्शकलाई समेत आफूले पुनः नेपाली टेलिभिजन नजिक ल्याएको उसको तर्क छ । ‘वास्तवमा यसले नेपाली टेलिभिजनमा नयाँ अवसरहरुको ढोका खोलिदियो । गायन सम्भावना बोकेका युवा प्रतिभाहरुलाई देशका कुनाकाप्चाबाट खोजेर ल्याएर उनीहरुका प्रतिभामात्र नभई व्यक्तित्वसमेत प्रस्फुटन गराई सामान्य अवस्थाबाट विशिष्ट अवस्थामा पुर्याउन्जेसम्म उनीहरुमा आएको परिवर्तन हेर्न लायक हुने गर्दछ,’ नेपाल आइडलको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो सिजनको अडिसन राउण्ड भर्खरै सम्पन्न भएको र पहिलो सिजनभन्दा दोस्रो सिजन अझ परिष्कृत रुपमा ल्याईएको नेपाल आईडलले जनाएको छ । नेपाल आईडलमा देशैभरबाट एकत्रित भएका प्रतिस्पर्धीहरुबीच अडिसनपछिका प्रतिस्पर्धाहरु धमाधम चलिरहेको छ । जहाँ सबै प्रतिस्पर्धीहरु आफूलाई निखार्नका लागि साधनारत छन् । गला र कला दुवैको सङ्गम नेपाल आइडलका अझै रोमान्चक एपिसोडहरु आउन बाँकी रहेको नेपाल आईडलको भनाइ छ । सन् २००१ मा बेलायती टेलिभिजन प्रोड्युसर साइमन फुलरले ‘पप आइडल’ का रूपमा शुरु गरेको सांगीतको महासंग्राम बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर आउने गर्दछ । संसारमा सबभन्दा धेरै हेरिने तथा सबभन्दा बढी मनोरञ्जन दिने सफल कार्यक्रमको रुपमा स्थापित आईडल सिरिज १५० भन्दा बढी देशमा लोकप्रिय छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु