गृहपृष्ठ काठमाडौं महानगरपालिकाले न्युरोडमा स्मार्ट पार्किङ बनाउने
काठमाडौं महानगरपालिकाले न्युरोडमा स्मार्ट पार्किङ बनाउने
काठमाडौं महानगरपालिकाले न्युरोडमा पाँच सय सवारी क्षमताको स्मार्ट पार्किङ बनाउने भएको छ । स्मार्ट पार्किङ निर्माणका लागि महानगरले बोलपत्र आह्वान गर्दै प्रक्रिया अघि बढाएको हो ।
महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्नेखालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त रुपमै आवेदन दिन सक्ने जनाएको छ । पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ ।
कुल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।
शारीरिक अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने व्यवस्थासहितको सुविधा हुनेछ । सो संरचनामा आकाशे पानी संकलन विधि जडान गरिनेछ । सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेसन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने कामपाले जनाएको छ । भवन निर्माण गर्न कामपाले न्युरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ ।
सवारीसाधन पार्क गरेर राख्ने स्थान नहुँदा उपत्यकावासीले सवारी चापको समस्या भोग्नुपरेको छ ।
प्रकाशित समय १६:२२ बजे

















