गृहपृष्ठ निर्मला हत्या प्रकरण : प्रहरीको प्रतिष्ठामा वर्षौं नमेटिने कलंक

निर्मला हत्या प्रकरण : प्रहरीको प्रतिष्ठामा वर्षौं नमेटिने कलंक

nirmala_newskarobar

घटना भएको झन्डै डेढ महिना पुग्नै लाग्दासमेत दोषी पत्ता नलागेपछि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण संशयपूर्ण बन्दै गएको छ । स्थानीयको चर्को विरोधपछि सरकारले कञ्चनपुरका सुरक्षा निकायका प्रमुख नै फेरेर अनुसन्धान अघि बढाए पनि वास्तविकता बाहिर आउन नसक्दा घटना शंकास्पद बन्दै गएको हो ।

घटनालाई नजिकबाट बुझेका केही पूर्वप्रहरी अधिकारीले सुरुवातदेखि नै प्रहरीले देखाएको निष्क्रियताले बालिका हत्या प्रकरणको रहस्य गर्भमै रहन पुगेको प्रतिक्रिया दिएका छन् । गत साउन १० गते नजिकै रहेको साथी रोशनी बमको घरमा गृहकार्य गर्न हिँडेकी निर्मला साँझ अवेरसम्म नफर्किएपछि परिवारका सदस्यले खबर गर्दासमेत प्रहरीले आलटाल गर्नु, मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई मुख्य आरोपीको रुपमा उभ्याई घटनालाई ढाकछोप गर्न खोज्नु, जुन घरबाट निर्मला हराएकी थिइन्, त्यहाँ झन्डै एक महिनासम्म खानतलासी नहुनुलगायत कारणले आमनागरिकमा प्रहरी प्रशासनप्रति शंका उत्पन्न भएका बेला पूर्वप्रहरी अधिकारीहरुले समेत प्रहरीले उक्त घटनामा सुरुबाटै गल्ती गरेको बताएका छन् ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले बालिका हराएको खबर गर्दासमेत प्रहरीले कुनै प्रतिक्रिया नजनाउनु ठूलो गल्ती भएको बताए । ‘प्रहरीले त तत्कालै प्रतिक्रिया जनाउनुपर्ने हो तर बालिका हराइन् भन्दा भोलि आउनु भनेको देखियो, यो नै प्रहरीको पहिलो गल्ती हो,’ उनले भने, ‘यो घटनाले प्रहरीको प्रतिष्ठामा वर्षौंसम्म नमेटिने कलंक लागेको छ ।’

पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले कुनै पनि घटनामा प्रमाण नष्ट हुन नदिन तत्कालै घटनास्थललाई शिल गरी अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्ने बताए । ‘तर, निर्मला हत्या प्रकरणमा भने शव भेटिएको स्थानलाई प्रहरीले न सुरक्षा दिएको देखिन्छ न त आसपासका क्षेत्र नै शिल गरेको छ । बरु प्रहरीले उल्टै पानीले बालिकाको शव र कपडा पखालिदिएको छ, ‘ उनले भने, ‘जसका कारण मृतकको शरीरमा भएका सम्भावित प्रमाणसमेत नष्ट हुन पुगे भने २६ दिनसम्म प्रहरीले निर्मलाको साथी रोशनी बमको घरमा खानतलासीसमेत गरेन । जबकि, प्रहरीले अनुसन्धानको प्रारम्भिक चरणमा यी विषयमाथि गम्भीर भएर लाग्नुपर्ने थियो ।’ मल्लले मिडियामा सार्वजनिक भएका भिडियोमा प्रहरीले उक्त कुरालाई ध्यान नदिएको देखिएको बताए ।

घटनाको प्रारम्भिक चरणदेखि नै प्रहरीले देखाएको निष्क्रियताका कारण कञ्चनपुरमा आन्दोलन चर्किंदा एक जनाले ज्यान नै गुमाए । प्रहरीले पीडित परिवारलाई समेत बारम्बार मानसिक सन्तुलन गुमेका व्यक्तिविरुद्ध जाहेरी दर्ता गर्न दबाब दिइरह्यो । यो घटनामा प्रहरी र पीडित पक्षबीचको दूरी बढ्दै जानुले पनि सर्वसाधारणको मनमा घटना यत्तिकै तुहिने त हैन भन्ने आशंका पैदा हुनु स्वाभाविक भएको मल्ल बताउछँन् ।

कञ्चनपुरमा प्रहरी प्रशासनविरुद्ध आन्दोलन चर्किएपछि सुरक्षा अधिकारी फेरिएका छन् भने विवादमा तानिएका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट अनुसन्धान अवधिभरका लागि निलम्बनमा परिसकेका छन् । तर, पुरानो टोलीले घटनासँग सम्बन्धित प्रमाण नष्ट गरेपछि नयाँ टोलीलाई समेत अनुसन्धानमा अप्ठ्यारो भइरहेका कुरा सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा न्याय पाउने झीनो आशामा बसेका पीडित परिवार र आम कञ्चनपुरबासीका मनमा वास्तविक दोषीले उन्मुक्ति पाउने त हैन भन्ने संशय पैदा भएको छ ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु