गृहपृष्ठ गंगामाया भन्छिन्– यहाँ न्याय पाइनँ, अन्तर्राष्ट्रिय अदालत जान्छु
गंगामाया भन्छिन्– यहाँ न्याय पाइनँ, अन्तर्राष्ट्रिय अदालत जान्छु
गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने बताएकी छन् । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्बाहीको माग गर्दै वीर अस्पतालमा पटक-पटक आमरण अनसन बसेकी गंगामायाले सरकार र अदालतबाट न्याय पाउने आशा मरेको बताइन् । छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्न आदेश दिएपछि नै आफूले नेपालबाट न्याय पाउने आशा मारेको उनको भनाइ छ । सरकार र अदालतले न्याय नदिएकै कारण आफ्ना पति नन्दप्रसादले ज्यान गुमाउनु परेको उनले बताइन् । छोराको हत्यारालाई कार्बाही गर्न माग गर्दै आमरण अनसन बसेका नन्दप्रसादको पनि ३ वर्ष अघि वीर अस्पतालमै निधन भएको थियो । उनको शव अहिलेसम्म वीर अस्पतालमै राखिएको छ ।
‘अब न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जान्छु,’ उनले भनिन् ।
छोराको हत्यारालाई पक्राउ गरी कार्बाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित कार्यक्रममा गंगामालले भनिन्, ‘देशले मलाई न्याय नदिए पनि अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास छ ।’ न्यायको माग गर्दै अनसन बसेको अवधिभर मुलुकमा ११ पटक सरकार फेरिए पनि न्याय नपाएको उनको गुनासो छ ।
गंगामायाले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको बताइन् । ‘पीडक ठूला छन्, त्यस्तालाई अन्तर्राष्ट्रिय अदालतले समात्न सक्छ भन्ने सुनेकी छु ।’ उनले भनिन् । गंगामायाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई किन प्रक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्न पनि गरिन् ?’
प्रकाशित समय १४:२४ बजे

















