गृहपृष्ठ सार्वजनिक यातायातकाे भाडा बढ्याे, काठमाडाैं र छोटा रुटमा भने नबढ्ने
सार्वजनिक यातायातकाे भाडा बढ्याे, काठमाडाैं र छोटा रुटमा भने नबढ्ने
सार्वजनिक यातायातको भाडा वृद्धि हुने भएको छ । सरकार र यातायात व्यवसायीबीच सार्वजनिक यातायातमा हाल कायम भाडादरमा १० प्रतिशत वृद्धि गर्ने सहमति भएको छ ।
१० प्रतिशत भाडा बढाउने सहमति भए पनि काठमाडौंका छोटा रुटमा भने वृद्धि भएको भाडादर लागु हुने छैन । आइतबारदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनमा भाडा बढाउने भनिए पनि वृद्धि भएको भाडादर लामो रुटको लागि मात्र लागु हुने जनाइएको छ ।
राजधानी र स्थानीय छोटा रुटमा हाल लिइँदै आएको न्यूनतम भाडा १५ रुपैयाँ नबढ्ने भएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न स्थानीय छोटा रुटहरुमा सवारी साधनमा चढ्ने बित्तिकै यात्रुहरुसँग १५ रुपैयाँ लिने गरिन्छ ।
सरकारले २०७२ सालमा भाडादरको वैज्ञानिक समायोजन गरेर तोकेको भाडादर भने १३ रुपैयाँ मात्रै थियो । अर्थात् ४ किलोमिटरसम्मको भाडा १३ रुपैयाँ तोकिएको भए पनि व्यवसायीले चढ्ने बित्तिकै १५ रुपैयाँ लिदै आएका थिए । १३ रुपैयाँमा १० प्रतिशत वृद्धि हुँदा १४.३ रुपैयाँ मात्रै हुन्छ ।
अर्थात् अब नयाँ भाडादर अनुसार ४ किमीसम्मको भाडा १५ रुपैयाँमात्रै तिरे पुग्छ । यसअघि यातायात मजदुरले खुल्ला पैसा छैन भन्दै फिर्ता नदिँदा यात्रुहरु भाडामा २ रुपैयाँका दरले ठगिँदै आएका थिए ।
सवारीसाधनहरुले आफूखुसी लिइरहेको भाडादरमा १० प्रतिशत वृद्धि गरेको पाइए कारबाही हुने विभागले चेतावनी दिएको छ । नयाँ भाडादर कायम भएसँगै अनुगमनलाई पनि अगाडि बढाइने विभागले जनाएको छ ।
विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई मुख्य आधार बनाएर भाडा बढाइएको हो । दशैँमा राजधानीबाट घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकार बाध्य भएर १० प्रतिशत भाडा बढाउन सहमत भएको हो ।
प्रकाशित समय १७:११ बजे

















