गृहपृष्ठ सर्वसाधारण सेयर लगानीकर्ता ठग्ने अर्को तरिका

सर्वसाधारण सेयर लगानीकर्ता ठग्ने अर्को तरिका

rabindra-newskarobar

एकजना लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा बजारको गहिराइ (मार्केट डेप्थ) हेर्दै भने- ओहो ! यो कम्पनीको सेयर किन्नुपर्ला ।
मैले सोधें- किन ?
उनले भने- यसमा माग धेरै रहेछ । माग धेरै भयो भने त सेयरको भाउ बढ्ने हो नि !

उनको कुरा ठिकै हो । सेयरको मूल्य घट्ने र बढ्ने प्रमुख आधार त्यसको माग (डिमान्ड) र आपूर्ति (सप्लाई) ले नै हो । माग र आपूर्तिमा परिवर्तन ल्याउने कारण भने धेरै हुनसक्छन्, जस्तैः कम्पनीबाट आउने सूचना, नियम कानुनमा हुने परिवर्तन, बजारका हल्ला आदि । कुनै कम्पनीको सेयरको माग बढी भए मूल्य बढ्छ भने माग कम भए वा आपूर्ति (बिक्री गर्ने) बढी भए भने मूल्य घट्ने हुन्छ ।

पहिला–पहिला लुकाउने गरिएको बजारको गहिराइ (कुन कम्पनीको कति कित्ता सेयर बिक्रीमा र खरिदमा छ भन्ने) नेप्सेको थोत्रो वेबसाइटमा हेर्न सकिने भएको पनि केही वर्ष बितिसकेको छ । यही माग र आपूर्तिलाई आधार मानेर धेरै लगानीकर्ताले सेयरको कारोबार (किन्ने र बेच्ने) गर्ने गर्छन् । तर, सेयर किनिसकेपछि वा बेचिसकेपछि परिणाम उनीहरुले अपेक्षा गरेभन्दा फरक आइदिन्छ । जस्तैः किनेपछि घट्छ, बेचेपछि बढ्छ । किन यस्तो हुन्छ ?

बजारको गहिराइमा देखिने सेयरको कुल माग र आपूर्तिमा विश्वास गरेर सेयर किनिहाल्न सकिन्छ त ! अहिलेको हाम्रो बजारमा बजारको गहिराइमा देखिने कुल माग र आपूर्तिमा पूर्णरुपमा विश्वास गर्न सकिने अवस्था छैन । यहाँ देखिने जति माग र आपूर्ति छ, त्यसमा धेरै नक्कली हुने गरेका छन् । यसरी नक्कली माग र आपूर्ति खडा गर्ने काम ब्रोकरबाटै हुने गर्छ र त्यसमा नियामक निकायको पनि साथ छ । सर्वसाधारण लगानीकर्तालाई भ्रममा पारेर नाफा हत्याउन ब्रोकर र नियामकले पाइला–पाइलामा भूमिका खेलेका छन् ।

कसरी खडा गरिन्छ नक्कली माग र आपूर्ति र ठगिन्छन् सर्वसाधारण लगानीकर्ता ? यो महत्वपूर्ण प्रश्न हो । मैले सेयरको तालिम दिँदा धेरै कममात्र सहभागीले यो प्रश्न राख्ने गरेको पाएको छु । यसको अर्थ धेरै यसबारेमा अनभिज्ञ नै छन् ।

कुनै कम्पनीको सेयर बढी होल्ड गरेर राख्ने लगानीकर्ताले त्यस कम्पनीको सेयर मूल्य बढाएर आफूसँग भएको सेयर बेच्नु छ वा बैंकमा धितो राखेर बढी ऋण लिनु छ वा मार्जिन कलबाट बच्नु छ भने चलिरहेको मूल्यभन्दा केही तलकोे मूल्य तोकेर ठूलो संख्यामा ब्रोकरलाई खरिद आदेश दिन्छ । त्यो लागानीकर्तालाई थाहा हुन्छ कि उसले दिएको आदेशअनुसारको मूल्य र संख्यामा बजारमा सेयर बिक्रीमा आउन सक्दैन । यो कुरा ब्रोकरलाई पनि थाहा हुन्छ, त्यसअनुसार बजारमा माग हुने सम्भावना छैन, भए पनि ब्रोकरले ती लगानीकर्ताको आदेश कम्प्युटरमा राखिदिन्छ । जुन सक्कली आदेश नभई बजारमा अधिक माग देखाएर मूल्य बढाउनका लागि राखिएको नक्कली आदेश हुन्छ । यो मागलाई देखेर अन्य लगानीकर्ताले बढेर सेयर किन्न थाल्छन् र विस्तारै सेयरको मूल्य बढ्दै जान्छ । बेच्नेले मूल्य सीमाभित्र रहेर बढी मूल्यमा बिक्रीमा राख्छन् र किन्नेले अधिक माग देखेर अझ बढ्ने लोभमा बढेरै सेयर किन्न थाल्छन् । मूल्य विस्तारै बढ्दै जान्छ । चाहेको मूल्य आएपछि त्यही नक्कली माग सिर्जना गर्ने लगानीकर्ताले आफूसँग भएको सेयर विस्तारै बिक्री गर्दै जान्छ ।

नक्कली आदेश खडा गर्नेको खरिद आदेश र भुक्तानी ब्रोकर कार्यालयमा नियमन नगर्नु र ठगहरुलाई कारबाही गर्न ठूलो मात्रामा आर्थिक जरिवानाको व्यवस्थाबारे कानुनमा लेख्न नसक्नु भनेको ठगलार्इ नियामकको प्रोत्साहन नै हो ।

अर्कोतर्फ, मूल्य घटाउन पनि यस्तै रणनीति अपनाइन्छ । आफूसँग भएभन्दा अस्वाभाविक बढी कित्ता सेयर बिक्रीमा राख्न आदेश दिइन्छ । त्यति धेरै आपूर्ति देखेपछि सर्वसाधारणले मूल्य तल जाने डरले कम मूल्यमा वा मूल्य घटाउँदै आफूसँग भएको सेयर बिक्री गर्न थाल्छन्, जुन आपूर्ति वास्तविक नभई नक्कली हुन्छ । जसका कारण मूल्य घटेर तल आएपछि पुनः त्यही लगानीकर्ता जसले अघि अधिक माग देखाएर मूल्य बढाएर आफ्नो सेयर बेचेको थियो, त्यसैले फेरि किन्छ । सर्वसाधारण अघि महँगोमा किन्नेले अब सस्तोमा बेच्छ र घाटा खाएर निराश बन्छ ।

यसरी नक्कली माग र आपूर्ति खडा गरेर सर्वसाधारणलाई चेपुवामा पार्ने काम चलाख लगानीकर्ता वा लगानीकर्ताको समूह, ब्रोकर र नियामकको मिलेमतोमा गरिएको हुन्छ । लगानीकर्ताको उद्देश्य बजारबाट नाफा लिनु हो, जसका लागि उसले अनेक तरिका अपनाइरहेको हुन्छ । तर, बजारको नैतिकताभन्दा बाहिर गएर ग्राहकको आदेश लिएर भ्रम छर्न सघाउने काम ब्रोकरले गरेको हुन्छ । जस्तैः कसैले कुनै कम्पनीको एक लाख कित्ता सेयर खरिद आदेश दिन्छ भने उसले त्यसबापतको रकम अग्रिम रुपमा लिनुपर्ने हुन्छ । तर, ब्रोकरले कुनै पनि पैसा लिँदैन र नक्कली माग सिर्जना गर्न सहयोग गर्छ ।

त्यस्तै, कसैले एक लाख कित्ता सेयर बिक्री गर्ने आदेश दिन्छ भने उसले डिम्याट खातामा भेरिफाइ गरेर खातामा नभएको सेयरको आदेश बिक्रीमा नराख्नुपर्ने हो तर लगानीकर्ताको मिलेमतोमा राखिदिन्छ । यसले बजारमा नक्कली आपूर्ति देखाउन सहयोग पुग्छ । जसले बजारमा भ्रम सिर्जना गरिदिन्छ । ब्रोकरको बदमासी यहाँ छ । अर्कोतर्फ नियामकले गरेको बदमासी भनेको सेयरको खरिद आदेश दिनेले सुरुमै पूरै पैसा भुक्तानी गर्ने नियम नबनाउनु, यस्ता नक्कली आदेश खडा गर्नेको खरिद आदेश र भुक्तानी ब्रोकर कार्यालयमा नियमन नगर्नु र बजारका त्यस्ता ठगहरुलाई कारबाहीका लागि ठूलो मात्रामा आर्थिक जरिवानाको व्यवस्था कानुनमा लेख्न नसक्नु हो । यो भनेको नियामकले उनीहरुलाई प्रोत्साहन गरेर सर्वसाधारणलाई लुट भन्नु नै हो ।

सेयरको अनलाइन कारोबार कहिले सुरु हुन्छ, त्यसको निश्चितता छैन तर आउने कुरामा आशा मरेको छैन । अनलाइन कारोबारले यस्ता सबैखाले लगानीकर्ताको हातमा खरिद र बिक्री आदेश आफैं राख्ने अवसर प्रदान गर्नेछ । नियामक धितोपत्र बोर्ड र नेप्सेको गम्भीर गल्तीका कारण नक्कली माग र आपूर्तिका कारण ठगिने अवस्था अझ बढी आउँदैछ । जसको प्रमुख कारण खातामा पैसा नभई खरिद आदेश दिन सक्ने व्यवस्था गरिनु र खातामा सेयर नभई बिक्रीको आदेश दिनसक्ने व्यवस्था हुनु हो ।

अनलाइन कारोबारमा लगानीकर्ताको खातामा भएको पैसा जतिको मात्र खरिद आदेश राख्न सकिने व्यवस्था हुन जरुरी छ । त्यस्तै, लगानीकर्ताको खातामा भएजति सेयरको मात्र बिक्री आदेश राख्न सकिने व्यवस्था हुनुपर्छ । यसो भएमा नक्कली खरिद र बिक्री आदेश राख्ने सम्भावना रहँदैन । सर्वसाधारणलाई भ्रम छर्ने काम केही कम हुन्छ । तर, नेप्सेले यो गरिहाल्ने अवस्था म देखिरहेको छैन ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु