गृहपृष्ठ ऋण लगानीमा आक्रामक बन्दै वाणिज्य बैंक
ऋण लगानीमा आक्रामक बन्दै वाणिज्य बैंक
बेलैमा होस् नपुर्याए तरलता संकट : विज्ञ
वाणिज्य बैंकहरु कर्जा प्रवाहमा आक्रामक देखिएका छन् । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले चालू आर्थिक वर्षको मात्र दुई महिनामा १ खर्ब बढी कर्जा प्रवाह गरेका छन् । बैंकहरुले विस्तार गरिरहेको यो कर्जा दैनिक औसत डेढ अर्ब रुपैयाँभन्दा बढी हो ।
गत साउन ४ गतेसम्म ‘क’ वर्गका बैंकहरुको कर्जा लगानी करिब २१ खर्ब रुपैयाँ थियो । तर, असोज दोस्रो सातासम्ममा २२ खर्ब ८ अर्ब लगानी पुर्याएका छन् । गत आर्थिक वर्षको अन्त्यमा बैंकिङ प्रणालीमा सरकारले खर्च गरेको रकम आएसँगै लगानीयोग्य पुँजी (तरलता) केही सहज भएको छ । त्यसैले पनि कर्जा लगानीमा बैंकहरु आक्रामक बनेका हुन् ।
बैंकहरुको लगानी जलविद्युत, ऊर्जा, पर्यटन, कृषिलगायत उत्पादनमूलक क्षेत्रमा गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पुँजीवृद्धिपछि बैंकहरुको लगानी क्षमता बढेकाले अहिलेको लगानीलाई अस्वाभाविक मान्न नहुने बैंकरहरु बताउँछन् ।
निक्षेपमा निराशा
बैंकहरुले मुद्दती बचतमा ११ प्रतिशत ब्याज दिएर पनि निक्षेप संकलन गरिरहेका छन् । त्यसरी संकलन गरेको निक्षेपलाई बैंकहरुले १६ प्रतिशतसम्ममा ऋण लगानी गरेका छन् । तर, कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुको निक्षेप संकलन भने निराशाजनक नै छ ।
कर्जाको तुलनामा निक्षेप संकलन दुई सय प्रतिशतले पछाडि छ । आर्थिक वर्ष २०७५÷०७६ को दुई महिनामा बैंकहरुले ५८ करोड रुपैयाँमात्र निक्षेप संकलन गरेका छन् । जबकि, यही अवधिमा कर्जा लगानी ९० अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्ष ०७५÷७६ को साउन पहिलो सातासम्म बैंकहरुले २४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । अहिले निक्षेप संकलन २५ खर्ब १२ अर्ब पुर्याएका छन् ।
निक्षेप नबढ्दाको असर
सरकारले आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने प्रवृत्ति अन्त्य नगर्ने हो भने पुसपछि लगानीयोग्य रकमको अभाव हुने निश्चितप्रायः छ । अघिल्लो वर्ष पनि पुँजीगत खर्च न्यून भएको अवस्थामा वाणिज्य बैंकहरुले आँखा चिम्लिएर लगानी बढाउनाले करिब ६ महिना तरलता संकट झेल्नुपरेको थियो । ‘पुँजीगत खर्च पनि नहुने र बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा बढी लगानी गर्नाले लगानीयोग्य पुँजी अभाव हुँदै आएको छ,’ पूर्वगभर्नर तिलकबहादुर रावल भन्छन्, ‘फेरि त्यही प्रवृत्ति दोहोरिएमा तरलता संकट हुँदैन भन्न सकिँदैन ।’
हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा सरकारी ढुकुटीमा रहेको रकम खर्च भएमा बैंकिङ प्रणालीमा तरलता अभाव नहुने बताउँछन् । अहिले सरकारी ढुकुटीमा दुई खर्ब रुपैयाँ छ ।
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री विगतमा देखिएकोजस्तो तरलता संकट अब नहुनेमा विश्वस्त छन् । ‘डिपोजिट बढेको छैन, यो समस्या हो,’ उनले भने, ‘तर विगतको जस्तो तरलता संकट हुने सम्भावना म देख्दिनँ । अहिले औँल्याइएको समस्या अस्थायी हो ।’
दसैं, तिहार र छठ पर्वमा रेमिट्यान्स बढ्ने भएकाले पनि तरलता सहजीकरणमा त्यसको योगदान रहने उनको तर्क छ । ‘अर्कोतिर सरकारको पुँजीगत खर्च बढ्यो भने स्थानीय तहले पनि खर्च गर्न थाल्छन्,’ उनले भने, ‘सरकारले आन्तरिक ऋण पनि उठाउन थाल्छ ।’
किन बढ्यो कर्जा लगानी ?
गत आर्थिक वर्षको अन्त्यमा सरकारले पुँजीगत खर्च बढाउँदा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी आएको छ । सोही पुँजीलाई चालू आर्थिक वर्षको सुरुबाटै बैंकहरुले लगानी गरिरहेका छन् । सरकारले गत आर्थिक वर्षको अन्तिम २५ दिनमा एक खर्ब ६३ अर्ब रुपैयाँ बजेट खर्च गरेको थियो ।
असारमा सरकारले खर्च गरेको रकम बैंकिङ प्रणालीमा आएकाले अहिलेसम्म लगानीयोग्य पुँजीको अभाव झेल्नुपरेको छैन । बैंकर्सका अनुसार हाल बैंकहरुसँग करिब एक खर्ब लगानीयोग्य पुँजी छ । औसतमा बैंकको कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ७६ प्रतिशत रहेको उनीहरु बताउँछन् । बैंकहरु आगामी पुससम्म कर्जा लगानी गर्न सक्छन् । बैंकहरुले सीसीडी रेसियोको ८० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । ८० प्रतिशतमा पु¥याउँदा एक खर्ब लगानीयोग्य रकम आउँछ ।
तरलता अभाव हुँदैन : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक भने दसैंमा आर्थिक गतिविधि बढ्ने भएकाले तरलता अभाव नहुनेमा विश्वस्त देखिन्छ । ‘दसैंमा रेमिट्यान्स पनि अन्य महिनाको तुलनामा बढी आउँछ,’ राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘त्यसैले तरलता अभाव हुने हो कि भन्ने शंका नगरे हुन्छ ।’ मौद्रिक नीतिले निर्देशित गरेका क्षेत्रमा बैंकहरुको लगानी बढ्दा फाइदै हुने राष्ट्र बैंकको दाबी छ ।
विज्ञको राय
निक्षेप वृद्धिलाई बेवास्ता गर्दै वित्तीय संस्थाहरु आक्रामक रूपमा कर्जा विस्तारमा लाग्दा यसअघिका दुई वर्षमा देखिएजस्तै तरलता अभाव हुन सक्ने विज्ञहरु बताउँछन् । निक्षेपको तुलनामा अत्यधिक लगानी गरी नाफा लिने प्रवृत्तिका कारण बैंकको तरलतामा चाप परेको थियो । फेरि यस्तो अवस्था दोहोरिए सर्वसाधारणले दुःख पाउँछन् । किनकि, बैंकहरुले तरलता अभाव देखाएर ब्याज बढाउन थाल्छन् ।
‘अधिकांश बैंक तथा वित्तीय संस्थासँग एक–दुई महिनासम्मको पनि व्यावसायिक अनुमान गर्ने क्षमता छैन,’ एक पूर्वबैंकरले भने, ‘सम्पत्ति दायित्व व्यवस्थापनमा बैंकहरू असफल देखिए । यसकारण पटक–पटक समस्या आइरहेको छ ।’
यसअघिको तरलता संकटका बेला राष्ट्र बैंकले विशेष सुविधा भन्दै निक्षेप पुँजी तथा कर्जा अनुपात (सीसीडी रेसियो) गणनामा छुट दिएपछि बैंकहरू सहज अवस्थामा फर्किएका थिए । बैंकहरूले सही रूपमा ‘एसेट लायबिलिटी’ व्यवस्थापन गर्न नसके फेरि तरलता संकट आउन सक्नेमा सचेत हुनुपर्ने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको सुझाव छ ।
प्रकाशित समय १७:१९ बजे

















