गृहपृष्ठ नेकपा गण्डकी प्रदेशले टुंगो लगायो जिल्लाकाे एकता प्रक्रिया
नेकपा गण्डकी प्रदेशले टुंगो लगायो जिल्लाकाे एकता प्रक्रिया
जिल्लामा १० सदस्यीय संयन्त्र बनाइने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटिले जिल्ला सहितको स्थानीय तहको पार्टी एकताको प्रक्रिया टुंगो लगाएको छ । नेकपा गण्डकी प्रदेश कमिटिको पहिलो बैठकले पार्टीको जिल्ला सहितको स्थानीय तहको पार्टी संयन्त्र गठन प्रकृयाको विषयमा टुंगो लगाएको हो ।
बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि नेकपाले तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रका पाँच–पाँच जना रहने गरि जिल्ला संयन्त्र बनाउने निर्णय भएको जानकारी गराएको हो । नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा बुधबार पोखरामा बसेको पहिलो बैठकले पाँच–पाँच जना रहने गरि संयन्त्र बनाउने निर्णय गरेको सचिव गोविन्द नेपालीले बताए ।
जिल्ला संयन्त्रमा तत्कालिन एमालेबाट जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव रहने भएका छन भने तत्कालिन माओवादी केन्द्रबाट इन्चार्ज, सहइन्चार्ज र संयोजकसहित ५ जना गरी १० सदस्यीय संयन्त्र बनाइने सचिव नेपालीले बताए ।
त्यस्तै जिल्ला संयन्त्रले महानगरपालिकामा १०, नगरपालिकामा ८ गाउँपालिकामा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्नुको साथै पार्टीको विधान, नियमावली, पार्टीको थप निर्देशनलाई आधार मानी महानगरपालिका नगरपालिका र गाउँपालिकाको पार्टी एकिकरणका सम्बन्धमा प्रदेश कमिटिलाई आवश्यक सुझाव पठाउनु पर्ने निर्णय गरेको नेकपा गण्डकीका अध्यक्ष पाण्डेले बताए ।
यही असोज २७ गते भित्रै जिल्ला संयन्त्रको बैठक बस्नु पर्ने प्रदेश अध्यक्ष पाण्डेले जनाए । गण्डकी प्रदेशको भूगोलमा रहेका केन्द्रिय कमिटिका सदस्यहरुको भेला शुक्रबार पोखरामा बस्दै छ । नेकपा गण्डकी प्रदेशको सम्पर्क कार्यालय पोखरा ९ नयाँबजारमा रहने भएको छ । अध्यक्ष पाण्डेले भने, ‘पार्टी एकीकरणको लागि भन्दा पनि काम नै अगाडी बढाउनका लागि संयन्त्र गठन गरिएको हो, यही संयन्त्र अनुसार तल्ला तहमा अब काम सुरु हुन्छ ।’
नेकपा गण्डकी प्रदेशका इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बरिष्ठ नेताको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा गम्भीर असर परेको बताए । उनले भने, ‘केन्द्रका केही नेताहरुको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा नै असर परेको छ ।’
नेकपाको नयाँ विधान हेरेर परिमार्जित हुन आग्रह गर्दै उनले अहिले जे भइरहेको छ त्यो नयाँ विधान अनुसार भएको दाबी गरे । सह इन्चार्ज खगराज अधिकारीले नेकपा एकीकरणको प्रक्रिया छिटो टुंगाउन खोजेको बताए । उनले भने ‘नेकपाको एकिकरणले केन्द्रदेखि प्रदेश, जिल्ला, महानगर, नगर र गाउँस्तरमै पुगि पार्टी एकीकरणको प्रक्रिया छिट्टै टुंगिने छ ।’
प्रकाशित समय १७:२८ बजे

















