गृहपृष्ठ प्रदेश २ मा नेकपा र कांग्रेस एउटै कित्तामा, प्रदेशको राजधानी र नाम तोक्न माग

प्रदेश २ मा नेकपा र कांग्रेस एउटै कित्तामा, प्रदेशको राजधानी र नाम तोक्न माग

प्रदेश नम्बर २ को नाम र राजधानी तोक्ने विषयमा सत्तासाझेदार दल उदासिन रहेको भन्दै नेकपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले प्रदेश २ को सदन अवरुद्ध गरेका छन् । प्रदेश नम्बर २ को शुक्रबार बसेको प्रदेशसभा बैठक सुरु भए लगत्तै नेकपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु उभेर बैठक अवरुद्ध गरेका हुन् ।

नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले प्रदेश सरकारले अति आवश्यक काममा ध्यान नदिएर संविधान विपरित विधेयकहरु ल्याउनमा मात्रै समय खर्चेको आरोप लगाए । उनले अन्य प्रदेशहरुले नाम र राजधानीको विषयमा धेरै अगाडी बढिसकेको तर प्रदेश २ को सरकारले चासो नदिएको आरोप लगाए ।

प्रदेश सरकार संविधान विपरित प्रदेश प्रहरी ऐन र करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धि विधेयक ल्याएर अराजकता प्रस्तुत गरेको मण्डलको भनाई थियो । उनले प्रदेश सरकारले ल्याएको रातो किताबमा समानुपातिक हिसाबले बजेट वितरण नगरिएको समेत आरोप लगाए ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नाम, भाषा र राजधानी तोक्ने विषयमा कुनै ठोस प्रकृया अगाडी नबढाएसम्म सदन चल्न नदिने चेतावनी दिए । चौधरीले भने ‘एक महिनापछि बसेको बैठकमा सरकारले प्रदेशको नाम र राजधानीको विषयमा विधेयक ल्याउने आशा गरेका थियौँ तर सरकारले अनावश्यक काममा मात्रै समय खर्चेको छ ।’

अर्का प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले आफूहरु सरकारलाई रचनात्मक सहयोग गरिरहँदा समेत प्रदेशको नाम र राजधानी सम्बन्धमा विधेयक ल्याउन नसक्नुमा सरकारको कमजोरी रहेको आरोप लगाए ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु