गृहपृष्ठ कलाका नाममा नग्नता : चर्चा बटुल्ने सजिलो बाटो
कलाका नाममा नग्नता : चर्चा बटुल्ने सजिलो बाटो
‘अश्लीलता र नग्नताले बलात्कार र यौन हिंसाका घटना बढेको’ दाबी धेरैले गर्ने गर्छन् । ‘पहिरनले बलात्कार बढ्दैन’ भनेर टिप्पणी गर्नेहरु पनि कम छैनन् । तर, यी दाबी र टिप्पणी दुवै अनुमानित छन् अथवा नैतिकतासँग जोडिने विषयमात्र हुन् । मनोविदहरु यस्ता कुराले बलात्कार र यौन हिंसा बढ्छ भन्नेमा विश्वास राख्दैनन् । मनोविद डा. सगुनबल्लभ पन्त यसलाई जीवन जिउने तरिकाका रुपमा लिन्छन् । ‘यी वे अफ लाइफ हुन्,’ उनी भन्छन्, यसले बलात्कार र यौन हिंसा बढाएको कुनै अनुसन्धानबाट भेटिएको छैन ।’
सरकारले भने अश्लीलता र नग्नता अर्थात् छाडा गतिविधिविरुद्ध कदम चालिसकेको छ । अश्लील सामग्री राखिएका ‘पोर्न साइट’ बलात्कार र यौन हिंसा बढ्नुको मुख्य कारक ठहर गर्दै सरकारले त्यस्ता साइट बन्द गराउन थालिसकेको छ । चार लाखमध्ये २० हजार साइट बन्द पनि भइसकेका छन् ।
अश्लीलता र नग्नताले यौन हिंसा बढाउँछ या बढाउँदैन भन्नेमा बहस हुुँदै जाला तर अश्लीलता या नग्नता कलाकारका लागि चर्चा बटुल्ने सस्तो र सजिलो माध्यम भने बनिरहेको छ । कला क्षेत्रमा लामो समयसम्म संघर्ष गर्दा पनि नाम कमाउन नसकेपछि गुमनाम नहुन बरु बदनाम बन्न चाहनेहरुले अश्लीलता र नग्नताको सहयोग लिइरहेका छन् । गीत चल्नका लागि स्वर, नृत्य र अभिनय चल्न राम्रो सीप र कला नहुनेहरुका लागि चर्चा बटुल्ने सजिलो बाटो बनेको छ– नग्नता ।
सामाजिक सञ्जालमार्फत नग्नता प्रदर्शन गर्दै चर्चा र विवादमा रमाउन खोज्नेहरु धेरै छन् । उनीहरुले युट्युब च्यानलहरुमा अश्लील अन्तर्वार्ता दिनेदेखि फेसुबकमा नग्न फोटो÷भिडियो पोस्ट गर्ने गरेका छन् । आफूलाई गायिका, नायिका वा मोडल भनेर परिचय दिने यस्ता ‘कलाकार’हरुको गायन, नृत्य वा अभिनयमा कलाभन्दा नग्नता र छाडापन प्रस्तुत हुन्छ । कला र गलाभन्दा उनीहरु अश्लीलता बेचिरहेका छन् ।
सरस्वती लामा
आफूलाई रक गायिका ठान्ने सरस्वती लामाकोे नाम जति पवित्र छ, उनको गतिविधि उत्तिकै छाडा छ । स्टेजमा गीत गाउन पाए आफूले लगाएका छोटा र पारदर्शी कपडासमेत फुकाल्न तयार हुने सरस्वतीका गीत हेर्न र सुन्नभन्दा उनको शरीर हेर्न उच्छृंखल युवाको भीड लाग्छ । सरस्वतीलाई आफ्नो तन र नितम्ब देखाउने छाडापन प्रदर्शन गर्न भ्याइनभ्याई छ । युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा उनी ‘अहिलेको जमानामा बिक्न अश्लीलता प्रदर्शन गर्नुपरेको’ स्वीकार्ने गर्छिन् । जे होस्, यतिखेर उनी कला र गला नबिकेपछि नाङ्गो रुप देखाएर चर्चा कमाउन व्यस्त छिन् ।
लक्ष्मी आचार्य
आफूलाई गायिका तथा मोडलको परिचय दिने लक्ष्मी आचार्य अहिले सामाजिक सञ्जालमा निकै चर्चित छिन् । पूरै नाङ्गिएर कुकुर बोकेको फोटो केही दिनअघि साप्ताहिक पत्रिकामा छपाएपछि उनी फेरि चर्चा र विवादको शिखरमा आइन् । फोटोमा लक्ष्मीले कुकुरको सहायताले आफ्ना गोप्य अंग छोपेकी छन् । स्वरभन्दा नग्नता प्रदर्शनमा विश्वास राख्ने लक्ष्मीलाई छोटा कपडा लगाएकै कारण स्टेजमा रुचाइने गरेको छ । किनकि, उनले गाएका गीतबारे कमैलाई मात्र थाहा होला । उनी आफ्ना गीतमा आफैँं मोडलिङ गर्छिन् । आफूलाई ‘हट र सेक्सी’ भन्न रुचाउने उनको फोटो हेरेर नाक खुम्च्याउनेहरु धेरै छन् । उनीचाहिँ भन्ने गछिन्, ‘स्टेजमा ज्याकेट र अरु कपडा फुकाल्नु मेरो स्टाइल हो । बाहिरी कपडा फुकाल्दैमा म नाङ्गो हुन्न र अश्लीलता पनि फैलिँदैन ।’
तिर्सना बुढाथोकी
तिर्सना बुढाथोकी नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम हो । उनको नाम जति चर्चित छ, उत्ति नै विवादित र बदनाम पनि । ग्ल्यामर बजारमा उनका काण्ड निकै हिट छन् । बाथरुममा नुहाएको फोटोदेखि भिडियोसम्म सामाजिक सञ्जालमा पोस्ट गर्न पछि परिनन् उनी । उनीमाथि अश्लीलतालाई मलजल गरेको आरोप लाग्यो र धेरै आलोचित भइन् । तर, एक अन्तर्वार्तामा पत्रकारले ‘तपाईं नाङ्गिएर हिट हुन खोजेको हो ?’ भनेर प्रश्न गर्दा तिर्सना र पत्रकारको ठूलै झगडा परेको थियो । आफूलाई ‘हट एन्ड सेक्सी मोडल’ भन्न रुचाउने उनी फेसबुक लाइभमा पनि नग्नता प्रदर्शन गरिरहन्छिन् ।
ज्योति मगर
नग्नता प्रदर्शन गरेर निकै चर्चामा आएकी अर्की पात्र हुन् ज्योति मगर । ज्योति मगरप्रति दर्शकको छुट्टै अवधारणा बनिसकेको छ । र, ती दर्शक भन्ने गर्छन्, ‘ज्योति मगरको स्वर र अभिनय अब्बल छैन, नग्नता र छाडा बोल्ने शब्द र सेक्सी लुक्स नै बिकेको हो ।’ उनको दर्शकसम्म पुग्ने बाटो गायन हो तर उनले बेच्ने अश्लीलतामात्र हो । छाडा शब्द प्रयोग गर्दै दोहोरी गाउन खप्पिस ज्योति दर्शकको मागअनुसार स्टेजमै कपडा खोल्नसमेत पछि पर्दिनन् । मेला महोत्सवमा युवापुस्ता उतार्न आयोजकले उनको माग गर्ने गरेका छन् ।
अर्चना पनेरु
पोर्नस्टार बन्ने सपना बोकेर राधजानी छिरेकी पात्र हुन्, अर्चना पनेरु । कञ्चनपुरको भाँसी स्थायी घर भएकी उनी हाल काठमाडौं बस्छिन् । आमा सुनिताको सहयोगमा उनले केही समयअघि पोर्नस्टारको अभ्यास भन्दै नग्न तस्बिर खिचेर सार्वजनिक गरेकी थिइन् । नग्न तस्बिर सार्वजनिक गरेपछि अश्लीलता फैलाएको आरोपमा प्रहरीले आमा-छोरीलाई नै पक्राउ गरेको थियो । प्रहरीको फन्दाबाट छुटेपछि पनि आमा-छोरीले पोर्नस्टार बन्ने सपना कुनै पनि हालतमा पूरा गर्ने बताउँदै आएका छन् । केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी अर्चनाको कलाभन्दा नग्नता नै बिक्दै आएको छ ।
बढी हेरिने तिनै
संसारमा ‘भल्ग्यारिटी’ बढी बिक्नेमध्येमा पर्छ । नेपालमा पनि जति नै विवादित र आलोचित भए पनि सामाजिक सञ्जालमा बढी खोजिने पात्र तिनै हुन् । कला र प्रतिभामा कमजोर भए पनि नग्नता प्रदर्शन गरिएका दृश्य बढी बिक्ने गरेका छन् । उनीहरुको आम्दानीको मूल स्रोत पनि ‘युट्युब भ्युअर्स’ नै बन्ने गरेको छ ।
मान्छे कसरी मन लाग्छ, त्यसरी जीवन जिउन चाहन्छ । भलै आफ्ना गतिविधिले समाजमा नकारात्मक असर नपारोस् भनेर सचेत हुन सबैले जरुरी छ । कलाकारका हकमा नकारात्मक अड्कलबाजी र टिप्पणी धेरै हुने गर्छन् तर, मनोविदहरु भने यस्ता टिप्पणी मनगणन्तेमात्र हुने बताउँछन् ।
प्रकाशित समय १०:३८ बजे

















