गृहपृष्ठ सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राजपाले सो चेतावनी दिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा राजपाले संविधान संशोधन नभए सरकालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । ज्ञापनपत्रमा तत्काल संविधान संशोधनको प्रक्रिया अघि बढाउन समेत राजपाले माग गरेको छ ।

निर्धारित कार्यक्रमअनुसार राष्ट्रिय जनता पार्टी नेपालका मोरङ अध्यक्ष मण्डलका संयोजक मोहम्मद कादिरले प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने र मधेश–थरुहट आन्दोलनसँग सम्बन्धित मुद्दाहरुको समाधानगर्ने प्रतिबद्धता जनाएपछि पार्टीले सरकारलाई समर्थन गरेको तर प्रतिबद्धता अनुसार सरकारले कुनै प्रकारको पहल कदमी नगरेको उल्लेख छ ।

राजपाले देशमा बलात्कार, हत्याहिंसा र कालोबाजारी नियन्त्रण गर्न सरकार असफल भएको समेत आरोप लगाएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत राजपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रकाशित समय १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु