गृहपृष्ठ जलस्राेतविद् भन्छन्- पेट्रोलियम पदार्थमा थप कर लगाउनुपर्छ
जलस्राेतविद् भन्छन्- पेट्रोलियम पदार्थमा थप कर लगाउनुपर्छ
जलस्रोतविद्हरुले नेपालमा नविकरणीय ऊर्जाको प्रशस्त सम्भावना हुँदा हुँदै पनि त्यसको उपयोग हुन नसकेको मा दुःख व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जलस्रोतविद्हरुले नविकरणीय ऊर्जाको विकास र प्रवर्द्धनमा सरकारले थप कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।
‘नविकरणीय ऊर्जाको प्रशस्त्र सम्भावना हुँदाहुँदै पनि आयातित खनिज तेलमा बढ्दो निर्भरता छ, यो हाम्रो लागि दुःखद् पक्ष हो,’ जलस्रोतविद् दीपक ज्ञवालीले भने, ‘अब नेपालले राष्ट्रिय नविकरण कोष स्थापना गर्नुपर्छ ।’ ज्ञवालीले केही वर्षयता नेपालमा पेट्रोलियम पदार्थको आयात र उपभोग अपत्यारिलो रुपमा बढेको भन्दै चिन्ता व्यक्त गरे । पेट्रोलियम पदार्थको उपभोग बढेसँगै कार्बन उत्सर्जन पनि बढेको उनको भनाई थियो ।
पेट्रोलियम पदार्थ र यसबाट चल्ने सवारी साधनमा जलवायु सम्बन्धी कर लगाउनुपर्ने ज्ञवालीको भनाई थियो । त्यसरी लगाइएको करबाट उठेको रकम उक्त कोषमा जम्मा गर्नुपर्ने तथा संकलित रकम जलविद्युत, सौर्य उर्जा र वायु उर्जाजस्ता नविकरणीय उर्जा उत्पादनमा लगानी गर्नु पर्ने ज्ञवालीले बताए । जलवायु परिवर्तनको प्रभाव नियन्त्रण गरेमा मात्र दिगो विकास हासिल हुन सक्ने उनको दावी थियो ।
उनले नविकरणीय ऊर्जामा युरोपका आइसल्यान्ड र नर्वेले धेरै प्रगति गरेको उल्लेख गर्दै नेपालले पनि त्यस्तै प्रगति गर्नसक्ने बताए । सरकारले उद्योग र कारखानालाई विद्युत कटौती गरेर नेपाललाई लोडसेटिङ मुक्त बनाउनुको कुनै फाइदा नरहेको उनले बताए । ‘अहिले पनि उद्योगमा लाइन काटिएको छ,’ सरकारको नेपालमा उद्योग नै नखोल भन्ने आसय रहेको आरोप लगाउँदै उनले भने, ‘जसका कारण नेपाली युवाहरुलाई विदेशमा जान बाध्य छन् ।’
सन १९९३ र ९४ मा नेपाल जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्रसंघीय खाका महासन्धि यूएनएफसिसि पक्ष राष्ट्र भएको वर्ष पेट्रोलियम पदार्थको आयात झण्डै ५ अर्ब बराबरको थियो । जबकी गत आर्थिक वर्ष सन् २०१७/१८ मा सो को आयात ३० गुणाले बढेर १ सय ५० अर्बसम्म पुगेको थियो ।
प्रकाशित समय १७:३२ बजे

















