गृहपृष्ठ तीन वर्षमा साढे चार गुणा बढ्यो धितोपत्र बोर्डको आम्दानी

तीन वर्षमा साढे चार गुणा बढ्यो धितोपत्र बोर्डको आम्दानी

बोर्डले लिने शुल्क पनि समयानुकूल परिमार्जन हुँदै जान्छ : प्रवक्ता

dhitopatra-board-newskarobar

नेपाल धितोपत्र बोर्डले तीन वर्षमा साढे चार गुणा आम्दानी बढाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाहेक आफूले नियमन गर्ने संस्थाबाट विभिन्न नियमन शुल्कबापत आर्थिक वर्ष २०७१/७२ मा १० करोड रुपैयाँ संकलन गरेको धितोपत्र बोर्डले आव २०७३/७४ मा ४७ करोड रुपैयाँ संकलन गरेको हो । आव २०७२/७३ मा बोर्डले १७ करोड रुपैयाँ नियमन शुल्क संकलन गरेको थियो ।

प्राथमिक निष्कासन तथा हकप्रद सेयर निष्कासन धेरै भएकाले बोर्डको आम्दानी बढेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् । ‘त्यसबाहेक सेयर कारोबारमा पनि उल्लेख्य वृद्धि भएकाले बोर्डको आम्दानी उच्च देखिएको हो,’ उनले भने, ‘सेयर कारोबार बढ्दै जाँदा बोर्डले लिने शुल्क पनि समयानुकूल परिमार्जन हुँदै जान्छ ।’ सेयर कारोबारमा उल्लेख्य वृद्धि हुँदै गएकाले ब्रोकर कमिसन पनि परिमार्जन गर्दै लगिने जानकारी दिए ।

विगतमा सरकारी बजेटबाट सम्पूर्ण प्रशासनिक खर्च सञ्चालन गर्दै आएको बोर्डले धितोपत्रसम्बन्धी ऐन २०६३ लागू भएपछि आफैं नियमन शुल्क लिन थालेको हो । धितोपत्र बोर्डले ऐनले निर्दिष्ट गरेबमोजिम रकम तथा शुल्क लिने गरेको प्रवक्ता गिरीले बताए ।

बोर्डले सामान्यतः अनुमतिपत्र दस्तुर, धितोपत्र दर्ता दस्तुर र धितोपत्र कारोबार गरे/गराएबापत दस्तुर लिने गर्छ । बोर्डले प्राथमिक सेयर जारी गरेबापत निष्कासन मूल्यको ०.२ प्रतिशत, डिबेन्चर वा बन्ड जारी गरेबापत निष्कासन मूल्यको ०.१५ प्रतिशत र सामूहिक बचत योजनाअन्तर्गतको एकाइ र अन्य धितोपत्र जारी गरेबापत ०.१/०.१ प्रतिशत शुल्क लिने गर्छ ।

त्यस्तै, सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रको खरिद बिक्री कारोबारमा ०.२ देखि ०.०५ प्रतिशतसम्म र सेयरलगायत अन्य धितोपत्र खरिद बिक्री कारोबारमा ०.३ देखि ०.२ प्रतिशतसम्म धितोपत्र दलालीबापत शुल्क लिने गर्छ । धितोपत्र बोर्डले प्राथमिक बजार, दोस्रो बजार, सिडिएस, मर्चेन्ट बैंक र क्रेडिट रेटिङ गर्ने संस्थासँग नियमन शुल्क लिन्छ । नेपाल स्टक एक्सचेन्जको पनि नियमनकारी निकाय हो बोर्ड । तर, विभिन्न कारण बोर्डले नेप्सेबाट नियमन शुल्क लिन सकेको छैन ।

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु