गृहपृष्ठ निर्मलाका बुबाले उठाए समितिको प्रतिवेदनमाथि प्रश्न
निर्मलाका बुबाले उठाए समितिको प्रतिवेदनमाथि प्रश्न
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले उच्च स्तरीय छानबिन समितिले प्रतिवेदनमा कुनै नयाँ कुरा नल्याएको बताएका छन् । बाहिर आएका कुरा नै प्रतिवेदनमा समेटिएको र केहि बुँदामा त्रुटी रहेको उनले आरोप लगाए ।
‘समितिले नयाँ कुरा बाहिर ल्याउला भन्ने आशा थियो, तर प्रतिवेदनमा बाहिर आएका कुरा नै समेटिएको रहेछ’ उनले भने, ‘अब न्याय पाउने आशा नै छैन ।’ अधिकारकर्मीले समितिले बनाएको प्रतिवेदनको केहि बुँदामा त्रुटी गरेकोरहेको आरोप लगाएका छन् । ‘प्रतिवेदनको केहि बुँदामा त्रुटी भेटिएको छ, दोषीलाई कारबाही गर्ने खालको प्रतिवेदन आएको छैन,’ अधिकारकर्मी शारदा चन्दले भनिन् ।
निर्मलाका परिवार र अधिकारकर्मीले समितिले बनाएको प्रतिवेदन पनि अपराधीलाई जोगाउने खालको प्रतिवेदन आएको आरोप लगाएका छन् । सुरु देखि नै अपराधी जोगाउन प्रमाण नष्ट गरेकाले दोषीलाई कारबाही हुनेमा उनीहरु ढुक्क छैनन् । सुरुदेखि आन्दोलनका क्रममा जे विषय उठेका थिए त्यही विषय मात्र प्रतिवेनमा रहेको उनीहरुको भनाइ छ ।
निर्मलाको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही गरेको निष्कर्ष समितिले निकाको छ । तर, प्रतिवेदनको आधारमा मुख्य दोषी कारबाहीमा नपर्ने र आफूहरुले न्याय नपाउने पीडित परिवारको भनाय छ ।
निर्मला हराएको सूचना पाएपछि पनि प्रहरी उदासीन रहेको, घटनास्थलको मुचुल्का उठाउने क्रममा गम्भीर गल्ती भएको, घटनासँग सम्बन्धित प्रमाण संकलनमा लापरबाही गरेको, घटनास्थलको पर्याप्त सुरक्षा नगरेको प्रतिवेदनमा उल्लेख छ । समितिले कञ्चनपुर प्रहरीलाई दोषी देखाएको छ ।
यता छानबिन समितिले भने आफ्नो प्रतिवेदनको सुझाव अनुसार प्रहरीमाथि नै छानबिन भए निर्मला पन्तले न्याय पाउने र दोषीलाई कारबाही हुने दावी गरेको छ ।
समितीले हत्या प्रकरणमा अहिलेसम्म बाहिर नआएका धेरै विषय समितिले सार्वजनिक गरेको दाबी गरेको छ । उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले प्रतिवेनको आधारमा दोषीलाई कारबाही हुनुपर्ने बताए ।
हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते समिति गठन गरेको थियो । समितिले असोज ९ गते गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको प्रारम्भिक निष्कर्षका आधारमा गृहले कञ्चनपुरका तत्कालीन एसपी विष्ट सहित अनुसन्धानमा खटिएका अन्य ७ प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो ।
निर्मलाको हत्या भएको मंगलबार ७७ दिन पुगेको छ । तर दोषी अझै पक्राउ पर्न सकेको छैन । गत साउन १० गते घरबाट निस्किएकी निर्मला भोलीपल्ट मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रकाशित समय १२:४९ बजे

















