गृहपृष्ठ रामवीर भन्छन्– पार्टीले निर्णय गरेमात्र राजीनामा दिन्छु
रामवीर भन्छन्– पार्टीले निर्णय गरेमात्र राजीनामा दिन्छु
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रामवीर मानन्धरले नेता वामदेव गौतमका लागि सिट खाली गर्न पार्टीले निर्णय गरे आफू तयार रहेको बताएका छन् । यद्यपि, अहिलेसम्म पार्टीले कुनै निर्णय गरेको खबर आफूले नपाएको उनले बताए ।प्रतिनिधिसभा निर्वाचनमा उनी १८ हजार १ सय २ मत प्राप्त गरी काठमाडौं ७ बाट निर्वाचित भएका थिए ।
नेता गौतम भने गत निर्वाचनमा बर्दियाबाट हारेका थिए । अन्तरघातका कारण आफू पराजित भएको भन्दै गौतम जसरी पनि संसदमा छिर्ने प्रयासमा छन् । यसका लागि उनले बाँके, बैतडी, डोल्पा, नवरलपरासी, दैलेखलगायतका जिल्लाका सांसदसँग लविङ गरेका थिए ।
तर, उनीहरुले राजीनामा गर्न अस्वीकार गरेपछि बामदेवले मानन्धरसँग कुरा गरेका बताइएको छ । ‘पार्टीले निर्णय गरेरै मलाई राजीनामा गर्न आग्रह गरेको खण्डमा म तयार छु’ मानन्धरले न्युज कारोबारसँग भने, ‘अरु प्रक्रिया केही अघि बढेको छैन, अहिलेलाई चर्चामात्रै हो ।’
बुधबार बस्ने नेकपा सचिवालयको बैठकबाट आफूले राजीनामा दिने वा नदिने भन्ने टुंगो लाग्ने उनले बताए । यसबारे थप जानकारी दिन उनले अपरान्ह ४ बजे अनामनगरमा पत्रकार सम्मेलनको आयोजना गरेको उनले जानकारी पनि दिए ।
प्रकाशित समय १२:५७ बजे

















