गृहपृष्ठ पोखरामा हुने पीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

पोखरामा हुने पीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

कात्तिक ४ गते देखि घरेलु टिमको बन्द प्रशिक्षण पोखरामै हुने

ppl_newskarobar

पोखरामा पहिलोपटक हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट
प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । कात्तिक ९ गतेदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो ।

उद्घाटन खेलमा विराटनगर टाइटन्सले घरेलु टिम पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने भएको छ । दोस्रो दिन कात्तिक १० गतेदेखि लिग चरणका दुई खेल हुने छन् । दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज बुटवल ब्लास्टरसँग भिड्नेछ भने अर्को खेलमा हुलास काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजसँग प्रतिस्प्रर्धा गर्नेछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी छन् ।

कात्तिक २० गतेसम्म पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । उनका अनुसार पोखरा रंगशालामा हाल चारवटा पिच निर्माण गरिएको छ ।

त्यसैगरी, चार हजार दशक क्षमताको अस्थायी प्यारापिट निर्माण भएको तथा अन्य तयारी अन्तिम चरणमा पुगेको प्रबन्ध निर्देशक लामाले जनाए । उनले भने, ‘नेपालीको महान पर्व दसैंको अवसरमा दुई÷तीन दिनमात्र तयारीमा केही काम स्थगित भए पनि बाँकी काम जारी रहन्छ, बाँकी काम दसैंलगत्तै पूरा गर्नेछौं ।’

प्रतियोगिताको विजेताले २५ लाखभन्दा बढी पुरस्कार पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड खर्च लाग्ने निर्देशक लामाले बताए ।

यसैबिच, पोखरा पल्टनका प्रबन्धक निर्देशक सुदिप शर्माले आफूहरु कात्तिक ४ गतेदेखि पोखरामा बन्द प्रशिक्षणमा लाग्ने बताए । स्थानीय र विदेशी दुई÷दुई जना खेलाडी राख्ने विषयमा समेत कात्तिक ४ गतेभित्रै टुंगो लगाउने गरी तयारी भएको शर्माले जनाए । शरद भेष्वाकरसहितको टिम सम्भवतः पहिलोपटक पोखराकै मैदानमा बन्द प्रशिक्षणमा कात्तिक ४ गतेदेखि नै जुट्ने प्रबन्धक निर्देशक शर्माले जनाए ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु