गृहपृष्ठ सुरक्षा गार्डको विकल्प : कि दसैं कि तिहार
सुरक्षा गार्डको विकल्प : कि दसैं कि तिहार
सबैको घर आँगनमा ‘गच्छेअनुसारको तडकभडक’सहित दसैं भित्रिइसकेको छ । तर, केही यस्ता घर पनि छन्, जसका घरका सदस्यले दसैंमा पनि बिदा पाएका छैनन् । त्यसैमध्येका हुन्– बैंकहरुमा सुरक्षार्थ खटिएका ‘गार्ड’ ।
दसैंको तयारी के छ ? भन्दै हामी उनीहरुकहाँ पुग्दा कोही घर जाने तयारीमा थिए, केही गइसकेका थिए भने कोही साथीलाई घर बिदामा पठाएर ड्युटीको ‘मोर्चा सम्हालिरहेका’ थिए । जो घर जाने कुम्लो कुटुरोको कस्दै थिए र जो घर जान नपाउने भएका थिए, ती दुवै थरीमा एउटा बेग्लै किसिमको खिन्नता पनि थियो । एक थरीलाई सँगैको साथी घर जान नपाएकोमा चिन्ता थियो भने अर्काथरीलाई घरपरिवारलाई ‘दसैंको टीका लगाइदिन’ नपाएकोमा ।
बैंकहरु पैसाको कारोबार हुने थलो । त्यसको सुरक्षा संवेदनशील हुन्छ । त्यस्तो स्थानको सुरक्षाका लागि खटिएका गार्डले जिम्मेवारी चटक्कै छाडेर हिँड्न पनि मिलेन । त्यसैले उनीहरुमध्ये केही दसैं मनाउन घर जान्छन् भने बाँकी बैंकको सुरक्षाका लागि खटिन्छन् । यो उनीहरुको बाध्यतामात्र होइन, कर्मप्रतिको निष्छल प्रेम पनि हो । कर्मवीरको त्यही इमानले उनीहरुलाई कर्तव्य पूरा गर्न आफ्नो सबैभन्दा ठूलो चाड पनि बिर्सन तयार भए । नभए हिन्दूहरुका लागि दसैंको विकल्प दसैं नै हो ।
दसैंमा पनि छुट्टी नपाएपछि सुरक्षामा लागिरहेका उदाहरणका एक पात्र हुन्– कृषि विकास बैंकका सुरक्षा गार्ड गोरे श्रेष्ठ । १७ वर्षदेखि बैंकको सुरक्षामा खटिएका गोरे भन्छन्, ‘यो वर्षको दसैंमा साथी घर गए, म तिहारमा जान्छु पालो मिलाएर छुट्टि बस्ने गर्छौं ।’
ललितपुर गोदावारी घर भएका उनी कहिले दिनमा पहरा दिन्छन् त कहिले रातमा । सुरक्षाका लागि बैंकको ढोकामा उभिँदा टीका लगाउन हिँडेको देख्दा घर–परिवारको सम्झना आउने उनी बताउँछन् । दसैंमा अरुले निधारमा रातो टीका र कानमा जमरा लाएर हिँडेको देख्दा मन खिन्न हुन्छ । तर, काम गर्नैपर्ने बाध्यताले पिरोलेको छ उनको मन ।
यो वर्ष दसैंको बिदा नपाएका अर्का सुरक्षा गार्ड हुन्– राष्ट्रिय बाणिज्य बंैकका बलबहादुुर तामाङ । तनहुँका स्थायी बासिन्दा तामाङ नेपाल प्रहरीका अवकाशप्राप्त हवल्दार हुन् । उनले राष्ट्रिय वाणिज्य बैंकमा सुरक्षा दिन थालेको ६ वर्ष भयो । उमेरले ५६ टेकेका उनी यो सालको दसैंमा घर जान नपाउने भएका छन् ।
६० वर्ष नाघेपछि काम गर्न नपाइने भएकाले अब एक वर्ष गरेर छाड्ने उनको तयारीमा छ । उनी भन्छन्, ‘हामी चार जना छौं सुरक्षा दिने, दुईजना घर गए, हामी दुईजना छौं । दिनमा म हेर्छु रातमा अर्को साथीले हेर्नुहुन्छ, यो सालको दसैंमा घर जान पाइनँ, पोहोरको साल पनि जुठो परेर मनाएनौं, हामीहरुलाई के दसैं के तिहार सधैं काम ।’ स्वदेश तथा विदेशमा उनीहरु जस्तै चाडपर्वमा घर जान नपाई परिवार सम्झेर खिन्न हुने हजारौं छन् ।
चाडपर्वमा परिवारसँग बसेर सुख–दुःख साट्ने रहर कसलाई पो हुन्न र ! तर हाम्रो बाध्यता छ । चाहे सरकारी होस् या गैरसरकारी संस्था, अलि ठूलो लगानी भएका सबै कम्पनीमा सुरक्षा गार्ड राखिएका हुन्छन् । संस्था वा कम्पनीले मात्र नभई भीआईपीको सुरक्षार्थ खटिएकाहरुले पनि दसैंमा बिदा पाउँदैनन् ।
नेपालीहरु स्वदेश तथा विदेशमा सुरक्षाकर्मीका रुपमा कार्यरत छन् । ब्रिटिस आर्मी, सिंगापुर पुलिस एवं खाडी मुलुकहरुमा सुरक्षा गार्डको रुपमा कार्य गर्ने नेपालीको संख्या ठूलो छ । कामका लागि मलेसिया र खाडी मुलुक पुग्नेहरुको बाध्यता पनि त्यस्तै छ । उनीहरुमध्ये धेरैले दसैंमा बिदा पाउँदैनन् । बिदा नपाएकाहरुको मात्र दसैं खल्लो भएको छैन । उनीहरुको बाटो कुरेर बस्नेहरुको दसैंसमेत नमज्जाको हुन्छ ।
अरुको भन्दा सुरक्षाकर्मीको जीवन भिन्न हुन्छ । रातिको समय, वातावरण बिग्रिएको समयमा अरुले बिदा पाउँदा उनीहरुको भने ‘ड्युटी’ बढ्छ । सुरक्षा दिने क्रममा उसले न दिन भन्न पाउँछ न त रात । चाडबाड पनि यसभन्दा भिन्न हुँदैन ।
अर्कोतर्फ यसरी सुरक्षामा खटिनेहरुको विवशता अली भिन्न हुन्छ । विभिन्न युनियनहरुले सुरक्षाकर्मीलाई समेत फाइदा पुग्ने माग राख्दै आन्दोलन गरे भने पनि उनीहरुले त्यो आन्दोलनमा सहयोग गर्न सक्दैनन् । त्यसलाई नियन्त्रण गर्नु उनीहरुको धर्म हो । कर्तव्य हो । दसैं तथा तिहारलगायतका पर्वहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका थुप्रै कर्मचारीले बिदा पाउँदैनन् ।
प्रकाशित समय १२:१२ बजे

















