गृहपृष्ठ पोखरा प्रिमियर लिगमा बुटबल ब्लास्टर्स र काठमाडौं रोयल्स विजयी

पोखरा प्रिमियर लिगमा बुटबल ब्लास्टर्स र काठमाडौं रोयल्स विजयी

pokhara-premier-league-newskarobar

बुटबल ब्लास्टर्स र काठमाडौं रोयल्सले शनिबार पोखरामा भएको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा जित हासिल गरेका छन् ।

पोखरा रंगशालामा भएको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गर्दै आफ्नो खातामा दुई अंक बटुल्न सफल भएको छ । एक सय ३६ रनको लक्ष्य पाएकोे चितवन १७ ओभरमै ६५ रनमा अलआउट हुन पुग्यो ।

तीव्र गतिका बलर कप्तान सोमपाल कामीले घातक बलिङ गरेपछि कप्तान पारस खड्काको टिम चितवन बुटबलसामु निरीह जस्तै भयो । सोमपालले ३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएका थिए । उनले ओपनर अनिल साह, कप्तान पारस खड्का, आरिफ शेख र स्मित पटेललाई आउट गरेका थिए । चितवनका दुवै ओपनर शून्य रनमा आउट भए ।

चितवनका लागि भुवन कार्कीले सर्वााधक १९ रन तथा कप्तान पारस खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बुटवलका लागि सोमपालले ४, ललित सिंह भण्डारीले २ तथा रोहन मुस्तफा, विपिन खत्री र अभिनाश बोहोराले १÷१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । खराब सुरुवात गरेको बुटवलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान सागर पुनले ४६ रनको योगदान दिए । सागर र शंकर रानाले चौथो विकेटको लागि ६८ रनको साझेदारी गरेका थिए । शंकर रानाले ४८ रन बनाए । सिद्धान्त लोहनी १७ रनमा नटआउट रहँदा कप्तान सोमपाल कामीले ६ रन बनाए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले आफ्नो स्पेलको पहिलो ओभरको पाँचौं र छैटौं बलमा चिराग सुरी र रोहन मुस्ताफालाई लगातार आउट गरेका थिए । बुटवल ब्लास्टरका सागर पुन बेस्ट क्याच घोषित भए । खेलको म्यान अफ द म्याच प्रतियोगितामै सर्वााधक विकेट लिएका बुटबल ब्लास्टरका टिम क्याप्टेन सोमपाल कामी घोषित भए उनले नगद १० हजार रुपैयाँ र सिल्ड प्राप्त गरे भने विनिङ टिम बोनस १५ हजार पाँच सय रुपैयाँसमेत हात पारे ।

दोस्रो खेलमा हुलास काठमाडौं रोयल्सले धनगढीलाई १७ रनले पराजित गर्यो । गौरव तोमरले आक्रामक ब्याटिङ गरेपछि पोखरा प्रिमियर लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई एक सय ८१ रनको लक्ष्य दिएको थियो ।

एक सय ८१ रनको लक्ष्य पछ्याएको धनगढी निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रनमै सीमित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ३ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । तेस्रो ब्याटिङ गर्न आएका गौरवले ४४ बलमा ९५ रन बनाए । उनले ४ चौका र १० छक्का प्रहार गरेका थिए । गौरव र नरेश बुढाएरले ९६ रनको साझेदारी गरे गर्दा नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाए ।

धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जिताउन भने सकेनन् । उनले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । जोराले ३ छक्का र १ चौका प्रहार गरी २७ रन बनाए ।

खेलको म्यान अफ द म्याच काठमाडौंका भारतीय खेलाडी गौरव तोमर घोषित भए उनले नगद १० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे भने फास्ट फिप्टी पनि उनी घोषित भए । त्यस्तै, बेस्ट क्याच काठमाडौंकै पृथु बाँस्कोटाले हात पारे । काठमाडौंले विनिङ बोनससमेत हात पारेको छ ।

भोलिको पहिलो खेलमा विराटनगर टाइटन्स र एक्सपर्ट धनगढी आमनेसामने हुनेछन् भने दोस्रो खेलमा बुटवलविरुद्ध पोखरा पल्टन भिड्नेछ ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु