गृहपृष्ठ प्रधानमन्त्रीले गर्न थाले मन्त्रालयको कामको समीक्षा
प्रधानमन्त्रीले गर्न थाले मन्त्रालयको कामको समीक्षा
फाइल तस्बिर
सरकारको गियर बढाउने चर्चा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको कार्यप्रगति तथा आगामी योजनाबारे समीक्षा सुरु गरेका छन् । सरकार तथा मन्त्रालयको काम कारबाहीलाई लिएर चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर कार्य प्रगति बारे समीक्षा सुरु गरेका हुन् ।
यसअघि जनताले महशुस गर्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिँदै आएका ओलीले
मन्त्रालयले पेस गरेका कार्ययोजनाका आधारमा मन्त्री र सचिवहरुसँग छलफल थालेका हुन् । छलफलको पहिलो दिन बुधबार प्रधानमन्त्रीले ४ वटा मन्त्रालयको कार्यप्रगति बुझ्दै समीक्षा गरेका छन् । ऊर्जा, जलश्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायत, सहरी विकास र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यप्रगति बारे उनले जानकारी लिएका हुन् ।
ति मन्त्रालयका कामका प्रगति वा कमजोरी भने अहिल्यै खुलाइएको छैन । सबै मन्त्रालयले आर्थिक वर्षको सुरुवातमा प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए । कार्ययोजना अनुसार के–कती काम भयो, वा भएन भन्ने बारेमा प्रधानमन्त्रीले समिक्षा गर्न सूरु गरेका हुन् । शुक्रबारसम्म प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका प्रगति विवरण अध्ययन गर्दै मन्त्रीसँग छलफल सक्ने उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
‘उहाँ प्रधानमन्त्री भए यता ९ महिना सम्मका सबै मन्त्रालयको कामको समीक्षा गरी, आउँदा दिनमा काम तिव्र बनाउन निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले न्युज कारोबारसँग भने, ‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।’
लामो समय यता बालुवाटारबाटै सरकार संञ्चालन गर्दै आएका ओली सिंहदरबार जान थाले लगत्तै मन्त्रालयको प्रगति समीक्षा थालेका हुन् । अस्वस्थ भएपछि उनले लामो समयदेखि बालुवाटारबाटै कार्यसम्पादन गर्दै आएका थिए । असार अन्त्यमा मन्त्रालयले पेश गरेका चौमासिक कार्ययोजनाका आधारमा प्रधानमन्त्री ओलीले मन्त्रालयको समीक्षा गरेका बताइएको छ ।
यसअघि प्रधानमन्त्रीले सफ्टवेरमार्फत सबै मन्त्रालयको काम कारवाही अध्ययन गर्दै आएका थिए । मन्त्री र सचिवसँग मन्त्रालयको कामको समिक्षा गर्दै प्रधामनमन्त्रीले काम गर्ने क्रममा देखिएका समस्या समाधान गर्दै थप कार्ययोजना तयार गर्ने बताइएको छ । जेठ १५ मा बजेट आए पनि अपेक्षित खर्च हुन सकेको छैन । मन्त्रालयको कामको समीक्षा सुरु गरेका प्रधानमन्त्री ओलीले राम्रो काम गर्न नसक्ने मन्त्रीलाई हटाउने चेतावनी दिँदै आएका छन् ।
प्रकाशित समय १९:१० बजे

















