गृहपृष्ठ एसिया प्यासिफिकमा सरकार सहआयोजक बनेकोमा कांग्रेसको आपत्ति
एसिया प्यासिफिकमा सरकार सहआयोजक बनेकोमा कांग्रेसको आपत्ति
क्रिस्चियन धर्म प्रचारका लागि काठमाडौँमा हुन लागेको एक कार्यक्रममा सरकार नै आयोजक भएपछि विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । ‘द एसिया प्यासिफिक समिट २०१८’ को कार्यक्रममा नेपल सरकार सहआयोजक बनेपछि कांग्रेसले विरोध गरेको हो ।
राजधानीमा शनिबार दिउँसो पत्रकार सम्मेलन नै गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको विरोध गरे । प्रवक्ता शर्माले सरकारले आईएनजीओको कार्यक्रममा सहआयोजक बनेको विश्वमै नभएको बताए । ‘विश्वमा कुनै पनि सरकार आईएनजीओको कार्यक्रममा सहआयोजक बन्दैन, त्यो कानुनविपरीत पनि धर्म प्रचार गर्ने कार्यक्रममा सरकार आयोजक बनेको छ,’ उनले भने ।
कार्यक्रम धर्म प्रचारका लागि समेत आयोजना हुन लागेको सुनिएको उल्लेख गर्दै उनले यो विषय संविधानको बर्खिलापमा रहेको बताए । युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म होटल ह्यातमा सम्मेलन गर्न लागेको छ ।
युनिभर्सल पिस फेडरेसन (यूपीएफ) क्रिस्चियन धर्म विस्तारका लागि स्थापना भएको संस्था हो । सो संस्थाको नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार नै सहआयोजक रहेको भन्दै यसअघि नै आलोचना हुँदै आएको थियो । नेपाल सरकार सहआयोजक रहेको सो सम्मेलनमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउने आयोजकको तयारी छ ।
प्रकाशित समय १७:५९ बजे

















