गृहपृष्ठ विकास ‘डोनर’ले होइन जनताले गर्छन् : मुख्यमन्त्री शाही
विकास ‘डोनर’ले होइन जनताले गर्छन् : मुख्यमन्त्री शाही
राजा-रजौटाको शैलीले जनताको विश्वास जित्न सकिन्न
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास ‘डोनर’ले नभई जनताले गर्ने बताएका छन् । जिल्ला समन्वय समिति कालीकोटद्वारा आयोजित दोश्रो जिल्लासभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘तपाई हामीलाई जनताले सरकारमा पठाएका हुन,’ स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘हामी जनतातिरै फर्कनुपर्छ ।’ विकास अभियानमा दातृ निकायको सहयोगी भूमिका मात्र हुने बताउँदै जनतालाई साथमा नलिई विकास र समृद्धिको अभियान पूरा नहुने उनको भनाई थियो ।
मुख्यमन्त्री शाहीले नकारात्मक सोच र राजारजौटाको शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने वताए । उनले जनप्रतिनिधिहरु जनताको सेवकका रुपमा रहनुपर्ने धारणम व्यक्त गरे ।
कर्णालीको योजनाबद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको बताउदै मुख्यमन्त्री शाहीले नतिजामुखी र नमुना काम गर्ने अठोट व्यक्त गरे । विकटता र गरीबीले चिनिएको कर्णालीलाई सुन्दरता र सम्भावनाको कर्णालीको रुपमा परिचित गराउन आरम्भमै प्रधानमन्त्रीलाई रारामा बोलाएको उनले बताए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले कर्मचारी अभावको कारण आफूहरुलाई काम गर्न गाह्रो भएको गुनासो गरे । कर्मचारी आपूर्तीमा केन्द्र सरकारले उदासिनता देखाएको भन्दै जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावत, राष्ट्रियसभा सदस्य जीवन वुढा, नरपति सुनार, प्रदेशसभा सदस्य कुर्मराज शाही र सोशीला शाही लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित समय १९:११ बजे

















