गृहपृष्ठ धनुषा : १२० एचआईभी संक्रमितको मृत्यु

धनुषा : १२० एचआईभी संक्रमितको मृत्यु

hiv-aids

धनुषामा १२० जना एचआइभी संक्रमितको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको तथ्यांक अनुसार गत आर्थिक वर्षदेखि यही कार्तिक महिनासम्म एक सय २० संक्रमितको मृत्यु भएको हो ।

चालु आर्थिक वर्षको कार्तिकसम्ममा गर्भवती महिलाहरुको चेकजाँच गर्दा धनुषामा थप १३ नयाँ एचअाइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयल धनुषाका अनुसार जिल्लाका ८ सय ४४ संक्रमित सम्पर्कमा रही औषधि सेवन गरिरहेका छन् । धनुषामा फेला परेका एचआइभी संक्रमितहरुको उमेर समूहमा बालबालिकादेखि वयस्यकसम्म छन् । खास गरी असुरक्षित यौन सम्पर्क, वैदेशिक रोजगार, लागु पदार्थ सेवन जस्ता गलत व्यवहारले एचआइभी संक्रमण हुने गरेको छ ।

 

नेपालमा एचआइभी संक्रमितको संख्या घट्दै
धनुषामा एचआइभीको संक्रमण दर बढेको भए पनि विश्व एड्स दिवस मूल समारोह समितिले एक दशकको अवधिमा नेपालका साथै विश्वमा समेत एचआइभी संक्रमण दर घट्दै गएको बताएको छ । सन् २०१७ को तथ्यांक र सन् २०१० को तथ्यांक दाँजेर हेर्दा नेपालमा ६१ प्रतिशतले एचआइभी संक्रमितको संख्या घटेको देखिन्छ । त्यस्तै एड्सका कारण हुने मृत्युमा २३ प्रतिशत घटेको जनाएको छ ।

समितिको तथ्यांकअनुसार नेपालमा २०१७ सम्ममा कुल संक्रमितमध्ये ५३ प्रतिशतले मात्रै रोगप्रतिरोधात्मक औषधि एन्टी रेट्रो भाइरस (एआरभी)को सेवन गर्दै चिकित्सकको सम्पर्कमा रहेको जनाएको छ ।

 

लोकलाजले चिकित्सकको सम्पर्कमा आउँदैनन् संक्रमित
धनुषालगायत देशभर एचआइभी भाइरसबाट संक्रमितहरु लोकलाज र समाजमा हेला र अपहेलना हुने डरले वास्तविकता लुकाएर बस्ने गरेको उपचारमा सलग्न चिकित्सकहरुले बताउने गरेका छन् । संक्रमितले एचआइभी संक्रमित भएको थाहा पाएर पनि चिकित्सकको सम्पर्कमा बसेर नियमित औषधि सेवन गरिरहेका छैनन् भने गरिबीले गर्दा पोसिलो खानेकुरा नपाएर धनुषामा बढी संक्रमितको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु