गृहपृष्ठ ऐनमा भत्ताको व्यवस्था, दैनिकी गुजार्न माग्नु पर्ने अवस्था

ऐनमा भत्ताको व्यवस्था, दैनिकी गुजार्न माग्नु पर्ने अवस्था

हरेक बर्ष डिसेम्बर–३ मा मनाइने अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । यस वर्ष पनि हरेक वर्ष जस्तै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । अपाङ्गहरुको हक हितको रक्षा तथा राज्यमा पहुँच स्थापित गर्नका लागि राज्यका अधिकांश निकायमा आरक्षणको व्यवस्था गरिएको छ ।

सन् १९९२ बाट अन्तर्राष्ट्रियस्तरमा यो दिवस मनाइने गरिएको छ । यस वर्ष २७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस ‘अपाङ्गता भएका व्यक्तिहरुको शसक्तिकरण तथा समावेशीता समानताको सुनिश्चितता’ भन्ने मूल नाराका साथ विश्वभर मनाइँदै छ ।

नेपालमा २७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा ‘मलाई गणना गर, मलाई समावेस गर’ भन्ने नाराको साथ मनाइएको हो ।

अपांगता भएको व्यक्तिहरुको लामो समयदेखि संर्घष र प्रतिक्षा पश्चात २०७४ साल साउन २२ गते अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ पारित भए सँगै विभिन्न क्षेत्रमा शमावेसिताका आधारमा अवसर दिएको छ । यो अवसरबाट अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो क्षमता र कार्यकौशल प्रयोग गरेर सफल जीवन व्यतित गरिरहेका छन् ।

अपाङ्गता भएको मान्छे देख्न बित्तिकै नाक खुम्चाउने समाजमा आफ्नो शारीरिक अवस्थालाई गर्वको साथ लिन सक्ने वातावरणको निर्माण भएको छ ।

पहुँच नहुनेको सडकमा मागेर गुजारा
अपांगता भएको व्यक्तिहरुलाई सरकारले उसको क्षमता अनुसारको अवसर दिए पनि माथिल्लो निकायमा पहुँच नभएकाहरुले भने अहिले पनि सडकमा मागेरै गुजारा चलाउने गरेका छन् । काठमाडौंको व्यापारिक केन्द्रका सडक छेउमा मागेर उनीहरुले दैनिकी बिताउने गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनमा अपाङ्गहरुलाई राज्यले भत्ता दिने व्यवस्था गरेको भए पनि पहुँच नहुनेहरुले अझैसम्म पनि त्यो सुविधा उपयोग गर्न सकेका छैनन् ।

महासंघको फितलो भूमिका
अपाङ्गहरुको हक र हितको लागि स्थापना भएको राष्ट्रिय अपाङ्ग महासंघ अपाङ्गहरुको हक हितमा आवाज उठाउने सवालमा कमजोर देखिएको छ । अपाङ्गहरुको हक हितको लागी स्थापना भएको महासंघले अपाङ्गको पक्षमा वकालत त गर्दै आएको छ, तर त्यसभन्दा थप काम गर्न भने सकेको देखिँदैन ।

महासंघसंग अपाङ्ग भएका व्यक्तिहरुको अवस्थाको कुनै तथ्यांक तथा जानकारी छैन । अपाङ्ग भएका व्यक्तिहरुको अवस्था के छ ? के गर्दै छन् ? कस्तो अवस्थामा छन् ? कति छन् ? केही पनि जानकारी राख्ने काम गर्दैन । ‘कुन व्यक्तिले के गर्दछ, कति संख्यामा छन्, कति सरकारी जागिरमा आवद्ध छन्, त्यसको रेकर्ड राख्ने काम सबै सरकारी निकायको हो हाम्रो होइन,’ महासंघका अध्यक्ष सुदर्शन सुवेदीले न्युज कारोबारसँग भने ।

ऐनमा भत्ताको व्यवस्था, सडमकमा माग्नु पर्ने अवस्था
अपाङ्ग सम्बन्धी ऐन २०७४ संसदले पारित गरेसँगै अपाङ्गता भएका व्यक्तिहरुलाई वर्गीकरण गरी भत्ताको व्यवस्था गरिएको छ । यद्यपी अधिकांस अपाङ्गहरुले अझैसम्म सरकारले दिने भत्ता पाउन सकेको छैनन् ।

अझै पनि उनीहरु सडक छेउमा मागेर आफ्नो दैनिकी गुजारा गरिरहेका छन् । ‘सरकारले दिएको भत्ता भन्दा उनीहरुले सडकमा बसेर माग्दा बढी कमाइ हुने भएकाले सडकमा माग्न बसेका हुन्,’ अध्यक्ष सुवेदिले भने, ‘हामीले स्थानीय तहसँग मिलेर सडक छेउमा बसेकालाई उठाउँने गरेका छौं, तर यो काम व्यवहारिक नभएकाले स्थानीय सरकारले सहयोग गरेन ।’

अपाङ्ग सम्बन्धी ऐन बनिसकेको भए पनि पूर्ण रुपमा कार्यन्वयन गर्न नियमावली नबनेका कारण पनि अहिले यस्तो अवस्था रहेको सुवेदीको भनाइ छ ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु