गृहपृष्ठ विराटनगर : अव्यवस्थित विकास निर्माणले व्यापार चौपट

विराटनगर : अव्यवस्थित विकास निर्माणले व्यापार चौपट

व्यापारी भन्छन्- यस्तो बाटो हिँडेर कसरी आउन् ग्राहक !

sadak-Biratnagar-final-newskarobar

अव्यवस्थित र सुस्तगतिको विकास निर्माणका कारण व्यापार व्यवसाय चौपट बनेको विराटनगरका व्यापारीले गुनासो गरेका छन् । जताततै अव्यवस्थित रुपमा महिनौंदेखिको सडक, नालालगायतका संरचना निर्माणका क्रममा सडक भत्काइँदा व्यापार चौपट भएको उनीहरूको गुनासो छ ।

विराटनगरमा अहिले  जोगबनी किमाङ्थान्का जोड्ने ६ लेनको सडक निर्माण भइरहेको छ भने भित्री सडकहरुमा क्षेत्रीय सहरी विकास परियोजना तथा मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाका कामहरु भइरहेका छन् ।

अव्यवस्थित रुपमा जताततै बाटो बन्द गरेर सडक तथा नालाहरु बनाइनु र यसबाट उत्पन्न धुलोलाई व्यवस्थित नगरिँदा त्यसको असर व्यवसायमा परेको उनीहरुको गुनासो छ । सडक तथा नाला निर्माणका कारण जताततै धुलो हुने र बाटो बन्द जस्तै हुने भएपछि ग्राहक आउन छाडेको व्यापारी बताउँछन् ।

sadak-biratnagar-newskarobar

व्यवसायलाई ख्याल नगरी विकास निर्माणका कामहरु ढिलो र अव्यवस्थित रुपमा सञ्चालन भइरहेका कारण व्यवसायमा नराम्रो असर परेको उनीहरूको दुखेसो छ । विराटनगरका हार्डवेयर व्यवसायी सुरेस अग्रवालले विराटनगर महानगरपालिकाले वैकल्पिक योजना नबनाई विकासका नाममा जथाभावी सडक थुन्ने, भत्काउने र खाडल खन्ने गरेका कारण व्यापार व्यवसाय धरापमा परेको गुनासो गरे ।

‘सटर भाडामात्र महिनाको ५० हजार रुपैयाँ भन्दा बढी छ । विराटनगर महानगरपालिकाले जताततै खनेको छ, खाल्डो बनाएको छ । ग्राहक आउने बाटोसमेत थुनिदिएको छ । यसले गर्दा हामी समस्यामा परिरहेका छौँ,’ उनले भने, ‘विकास हुनु सबैका लागि राम्रो कुरा हो तर विकल्प तयार नगरी हचुवाको भरमा भइरहेको संरचना भत्काउँदा हाम्रो व्यापार व्यवसाय चौपट भएको छ । बिक्री नभएपछि कहाँबाट सटर भाडा तिर्ने र कसरी व्यापार चलाउने भन्ने चिन्ता बढेको छ । १५-२० दिनदेखि त बुहुनीसमेत गर्न पाएका छैनौँ ।’

sadak-biratnagar-newskarobar

अर्का व्यापारी रमेश अग्रवालले पनि विकासका नाममा विराटनगर महानगरपालिकाले विकल्प तयार नगरी सडक नाला भत्काएर व्यापारीलाई आतंकित बनाएको बताए । ‘व्यापारमा एकदमै असर गरेको छ । अब विकास पनि हुनु नै पर्छ । विराटनगर महानगरपालिकाले विकल्प तयार गरेर काम अघि बढाएको भए राम्रो हुने थियो,’ उनले भने, ‘विकासप्रति खुसी छौँ तर व्यापार व्यवसाय ठप्प भएर निकै दुःखित बनेका छौँ ।’

त्यस्तै, विराटनगर शनि मन्दिरस्थित विराट फर्निसिङ हाउसका विश्वराज मगरले पनि विकास निर्माणका कामले व्यापार प्रभावित बनेको बताए । जथाभावी सडक नाला भत्काइएका कारण ग्राहक पसलमा आउनै छाडेको उनको गुनासो छ । ‘हिलोले मान्छे पसलमा छिर्नै मान्दैनन् । सबै हिँडेर आउने हुँदैनन् सवारी साधनमा आउन सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘झन् यो मंसिर महिना लगनको सिजन हो तर जताततै भत्किएकाले व्यापार चौपट छ ।’

sadak-biratnagar-newskarobar

विराटनगरमा एसियाली विकास बैंकको सहयोगमा २ अर्ब ६१ करोड १० लाख रुपैयाँको लगानीमा भइरहेको क्षेत्रीय सहरी विकास परियोजनाको काम २०१९ नोभेम्बर १ मा  सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २ नोभेम्बर २०१७ बाट निर्माण सुरु गरिएको परियोजनाको हालसम्म ३१ प्रतिशतमात्र भौतिक प्रगति भएको छ, जसकारण अझै लामो समय विराटनगरभित्र सडक निर्माणका कारण विभिन्न समस्या हुने देखिन्छ ।

महानगरभित्र परियोजनाका कामहरु सन्तोषजनक तरिकाबाट भइरहेको जानकारी दिँदै विराटनगर महानगरका परियोजना व्यवस्थापक भरतकुमार न्यौपानेले परियोजना क्षेत्रलाई धुलो धुवाँ मुक्त गर्ने अभियानमा आफूहरु रहेको बताए । ‘अहिले वास्तवमा विराटनगर महानगरअन्तर्गत विभिन्न भागमा विकास निर्माणका कामले केही हदसम्म समस्या भइरहेको हुन सक्छ । परियोजनाले विराटनगरकै मुहार फेर्ने भएकाले केही समय समस्या भए पनि दीर्घकालसम्म यसले विराटनगरको समाधान खोज्नेछ,’ उनले भने, ‘धुलो धुवाँ र हिलो न्यूनीकरणमा महानगरपालिका लागेकै छ ।’

विराटनगरमा अव्यवस्थित विकास निर्माणले अन्य क्षेत्रलाई पर्ने असर ख्याल नगरी विकास निर्माण गर्दा स्थानीय बासिन्दा, व्यापारीलगायतलाई भने दैनिक ठूलो क्षति पुगेको छ ।

sadak-biratnagar-newskarobar

sadak-biratnagar-newskarobar

sadak-biratnagar-newskarobar

प्रकाशित समय ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु