गृहपृष्ठ विवाहपञ्चमी महोत्सव अवलोकन गर्न जनकपुरमा पर्यटकको घुइँचो

विवाहपञ्चमी महोत्सव अवलोकन गर्न जनकपुरमा पर्यटकको घुइँचो

दैनिक १५ हजार भक्तजनलाई निःशुल्क भोजन

ramjanaki-bibaha-mahotsab-newskarobar

रामजानकी विवाहपञ्चमी महोत्सव अवलोकनमा लागि जनकपुरमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ । विवाहपञ्चमी महोत्सवको साप्ताहिक कार्यक्रम सुरु हुँदै गर्दा जनकपुर आउने श्रद्धालु भक्तजनको संख्या बढेको हो । स्वदेशी आन्तरिक पर्यटकदेखि भारतका विभिन्न राज्य र अन्य देशबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

शुक्रबारदेखि औपचारिक रुपमा सुरु भएको विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको कोलकाताबाट समूहमै आएका शिवा बाबा विवाहपञ्चमीसम्म बस्नेछन् । शिवा बाबाका साथमा १५ जना साधुसन्त आएका छन् । शिवा बाबाजस्तै अन्य हजारौं साधुसन्त जनकपुरमा एक साता पहिलेदेखि नै आइसकेका छन् । भारतबाहेक नेपालकै विभिन्न मठमन्दिरमा रहेका साधुसन्त पनि जनकपुर आउने क्रम बढेको छ ।

ramjanaki-bibaha-mahotsab-newskarobar

भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसमेत आउने भएपछि विवाहपञ्चमी महोत्सवमा भारतबाट ठूलै संख्यामा साधुसन्त र दर्शनार्थी आउने देखिएको छ । जनकपुरमा २६ गते हुने वैवाहिक कार्यक्रम अवलोकनका लागि करिब १० लाखको श्रद्धालु भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको रामजानकी विवाहपञ्चमी महोत्सव समारोहका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

जनकपुरका समाजसेवी वैद्यनाथ साहले अहिले जनकपुरमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक भित्रिरहेको बताए । एक सातादेखि नै ठूलो मात्रामा बस, जिप र कार रिजर्भ गरेर जनकपुर आउनेहरुका कारण गरेकाले जनकपुरका धर्मशाला, होटल, लज एवं सार्वजनिक स्थानसमेत भरिभराउ भएका छन् ।

भक्तजनलाई निःशुल्क भोजन

ramjanaki-bibaha-mahotsab-newskarobar
रामजानकी विवाह महोत्समा सहभागी हुन जनकपुर आउने श्रद्धालु भक्तजनका लागि रामजानकी विवाहपञ्चमी मूल समारोह समितिले निःशुल्क खानाको व्यवस्था गरेको छ । प्रत्येक दिन साँझ र बिहान अन्न दान कार्यक्रमअन्तर्गत १५ हजार जनालाई निःशुल्क खाना खुवाइरहेको समितिले जनाएको छ ।

निःशुल्क खानाको व्यवस्था गरिएपछि भोजनगृह स्थल दिनभरजसो व्यस्त रहने गरेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवका अनुसार विवाहको एक दिनअघिदेखि २४ सै घण्टा निःशुल्क खानाको व्यवस्था हुनेछ ।

ramjanaki-bibaha-mahotsab-newskarobar

विवाहपञ्चमीका अवसरमा जानकी मन्दिरबाहेकका संघसंस्थाले समेत निःशुल्क भोजनको व्यवस्थापन गर्न लागेका छन् । रामचोकमा महावीर युवा कमिटी र श्रीराम युवा कमिटीले निःशुल्क भोजनको व्यवस्था गर्न लागेका छन् । बाह्र बिघामा नेपाली सेनाको टोलीले ठूलो पण्डाल निर्माण गरी खानेबस्ने तथा पानी र औषधी उपचारको व्यवस्थापन गर्न लागेको गोरखनाथ गणका गणपति भोला पाण्डेले जानकारी दिए । ‘विवाहपञ्चमीका अवसरमा आउन सक्ने लाखौं भक्तजनलाई व्यवस्थापन गर्न सेनाले बाह्र बिघा रंगभूमि मैदानमै निःशुल्क शिविर आयोजना गर्न लागेको हो,’ उनले भने ।

छाडा चौपायाले समस्या
विवाहपञ्चमीको अवसरमा जनकपुर आउने साधुसन्त र जन्तीहरुका लागि जनकपुरको गोपाल धर्मशाला, पगलाबाबा धर्मशाला, जनकपुर यात्री निवास, आदर्श होटलको साथै बाह्र बिघा रंगभूमि मैदानमा बसोबासको व्यवस्था मिलाइएको छ । श्रद्धालु भक्तजनलाई कुनै किसिमको दुःख नहोस् भन्नेमा सतर्क देखिएको महोत्सव व्यवस्थापन समितिले छाडा पशुचौपाया व्यवस्थापनमा भने खासै चासो देखाएको छैन ।

ramjanaki-bibaha-mahotsab-newskarobar

छाडा पशुचौपायाका कारण भक्तजन एवं आगन्तुकले समस्या खेप्नुपरिरहेको बताएका छन् । जनकपुर नगर क्षेत्रमा छाडा छाडिएका गाई, बाछा र सुँगुरका कारण सडक जाम हुने तथा त्रास सिर्जना गर्ने गरेको पर्यटकले बताएका छन् । स्थानीय बासिन्दाले जथाभावी घरपालुवा पशुचौपाया छाड्ने गरेका कारण समस्या भएको हो ।

छाडा पशुचौपायाका कारण जनकपुर मन्दिरआसपासमा फोहोरमैला सिर्जना हुनुका साथै सवारी पार्किङमा पनि अवरोध हुने गरेको छ । छाडा चौपायालाई नियन्त्रणका लागि ट्राफिक प्रहरी र जनकपुरधाम उपमहानगरपालिकाले पनि उदासीनता देखाएको स्थानीय बताएका छन् ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु