गृहपृष्ठ सत्ताको आडमा घाइतेहरुमाथि ‘ज्यादती’
सत्ताको आडमा घाइतेहरुमाथि ‘ज्यादती’
शान्तिपूर्ण आन्दोलन गर्दा पूर्वलडाकु प्रहरी खोरमा
‘जनयुद्ध’मा राज्यविरुद्ध लड्दा घाइते भई अपांगता भएका पूर्वलडाकुलाई प्रहरीले हिरासतमा राखेको छ । आफूविरुद्धको आन्दोलन चर्किने देखिएपछि विभिन्न मुद्दा लगाएर आन्दोलनरत घाइते पूर्वलडाकुलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’को ठाडो निर्देशनमा प्रहरीले हिरासतमा राखेको हो ।
‘वार्ता गर्नु छ’ भन्दै गृह मन्त्रालयमा बोलाएर मंसिर २७ गते एक लडाकुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अनसनको नेतृत्वकर्ता घाइते पूर्वलडाकु युवराज विक छन् ।
काठमाडौंको माइतीघर मण्डलामा पाँच दिनदेखि ६ जना घाइते पूर्वलडाकु अनसनमा छन् । उनीहरू आफूसँग पटक-पटक सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै पुसको महिनामा चिसोमा पनि मण्डलाबाट सरकारलाई दबाब दिइरहेका छन् ।
धरातलीय यथार्थ बिर्सिएर आफैंलाई सत्तामा पुर्याउनेहरुमाथि गृहमन्त्री थापाले सत्ताको आडमा ज्यादती गरेका अरु घाइते लडाकुको आरोप छ । वार्ताका लागि आउन भन्दै गृह मन्त्रालय बोलाएर बिकलाई पक्राउ गरिएको उनीहरूले बताए । उनी यसअघि अनसनको नेतृत्व गर्दै आएका थिए ।
गृहमन्त्री थापाको निर्देशनमा पक्राउ परेका बिक महानगरीय प्रहरी वृत्त जावलाखेलको हिरासतमा छन् । अनसनकारीले गृहमन्त्री थापाको निर्देशनमा उनी पक्राउ परेको आरोप लगाएका छन् । गृहमन्त्री थापाले माग पूरा गराउनेभन्दा पनि प्रहरीको जिम्मा लगाएको घाइतेहरुले अर्का घाइते पूर्वलडाकु नरवीर कामी बताउँछन् ।
‘वार्ताका लागि आउन भनेर गृहमन्त्रालय बोलाएर हतकडी लगाएर लगिएको छ, के मुद्दा लगाइएको स्पष्ट भनिएको छैन, अब अनसनसमेत नबस्न धम्की आएको छ,’ कामीले भने ।

अनसनलगायतका आन्दोलन तत्काल बन्द गर्न भन्दै आफूहरुलाई ज्यान मार्ने धम्की आइरहेको उनीहरुको गुनासो छ । जीवन रक्षाको लागि आवाज उठाइदिन समेत उनीहरूले आग्रह गरेका छन् । उनीहरु भन्छन्, ‘मार्ने धम्की आइरहेको छ, मर्न डर भएर होइन, अब निर्णायक आन्दोलन गर्न हामी बाँच्नुपर्छ ।’
बिक पक्राउ परेपछि अहिले आमरण अनशन नरविर कामीको नेतृत्वमा बसिरहेको छ । यसअघि जनयुद्धका घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको संगठनले संघर्ष समिति गठन गरी नेपाल सरकारसँग पटक-पटक वार्ता सम्झौताहरु गरेको थियो ।
यसअघि घाइते पूर्व लडाकु कुलप्रसाद पौडेलले ५ मंसिरमा गृहमन्त्री थापाकै अगाडि विष सेवन गरेका थिए । तत्कालै अस्पताल लगिएपछि उनी बाँच्न सफल भए । पौडेललाई बिष सेवन गर्न उकासेको पक्राउ परेका घाइते पूर्व लडाकु कामीमाथि आरोप छ ।
पौडेलले विष सेबन गरेपछि सरकारले घाइते पुर्वलडाकुहरुसँग उनीहरुको माग पूरा गर्ने सम्झौता गरेको थियो । माग पूरा नभएपछि आफूहरुले तत्काल औषधि उपचार खर्च पाउनुपर्ने, परिवार तथा बालबच्चाहरुको शिक्षा, स्वाथ्य र रोजगारको व्यबस्था गर्नुपर्नेलगायताका मागहरु अघि सारेर उनीहरुले अनसन सुरु गरेका हुन् ।

अनशन थालेपछि कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणले सरकारलाई अलोकप्रीय बनाइरहँदा यस प्रकरणले सरकारलाई थप आलोचित बनाउने भयले दवाउन खोजिएको घाइतेहरु बताउँछन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री गृहमन्त्री रामबहादुर थापा ‘बादल’को लागि गलपासो बनेको अनसन विथोल्न अनशनकारी पक्राउ गर्न थालेको घाइतेहरुको आरोप छ । ‘हामीहरुलाई प्रयोग गरेर जनयुद्ध लडे, हामी घाइते अपांग भयौं । उहाँहरु मन्त्री प्रधानमन्त्री बन्नुभयो, राज्यकोष दोहन गरेर बस्नुभएको छ । तर, हामी उपचार खर्चको अभावमा शरीरभित्र गोली लिएर बस्न बाध्य छौं,’ घाइतेहरु भन्छन्, ‘आफ्नो अधिकार पाउँ भनेर शान्तिपूर्ण आन्दोलन गर्दा जसलाई हामीले मन्त्री प्रधामनमन्त्री बनाएका हौं उनैले अहिले हामीलाई हिरासतमा कोचेका छन् ।’
यसैबीच शनिबार नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख गंगा श्रेष्ठले अनसनरत घाइते अपांगता भएका पूर्व लडाकुलाई भेटेका छन् । उनीहरुको अवस्था नाजुक रहेको भन्दै श्रेष्ठले माग पूरा गर्न श्रेष्ठको माग छ । उनी भन्छन्, ‘थापालाई सिंहदरबार पुर्याउने योद्धाहरु पाँच दिनदेखि माइतीघर मण्डलाको खुल्ला आकाशमुनी मुटु छेड्ने जाडोसँग जुध्दै आफ्नो अधिकारका लागि आमरण अनसन बसिरहेका छन्, ती योद्धाहरूको माग शीघ्र पूरा गर्नुपर्छ ।’
प्रकाशित समय १९:१६ बजे

















