गृहपृष्ठ जलविद्युत आयोजनामा आक्रामक रुपमा लगानी बढाउँदै एचआईडीसीएल
जलविद्युत आयोजनामा आक्रामक रुपमा लगानी बढाउँदै एचआईडीसीएल
सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ठूला जलविद्युत आयोजनामा लगानी गर्ने गरी पुँजी जुटाउन केन्द्रित भएको छ । दीर्घकालीन प्रकृतिका पुँजी परिचालन गरी उपलब्ध वित्तीय स्रोतलाई जलविद्युत परियोजनामा लगानी गर्ने वा ऋण प्रवाह गर्ने गरी स्थापित कम्पनीले करिब ४० अर्ब पुँजी जुटाउन लागेको हो । त्यसका लागि कम्पनीले १० अर्बबराबरको हकप्रद जारी गर्दै छ भने ३० अर्बको ऋणपत्र निष्कासन गर्दै छ ।
मध्य तथा ठूला जलविद्युत परियोजनामा लगानी गर्नका लागि २०६८ सालमा स्थापना गरिएको कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । जसमा अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयको दुई÷दुई अर्ब तथा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कर्मचारी सञ्चयकोष, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको एक÷एक अर्ब छ । कम्पनीमा सर्वसाधारणको दुई अर्ब बराबरको सेयर छ ।
गत आर्थिक वर्षसम्ममा १७ वटा जलविद्युत आयोजनामा करिब ११ अर्ब लगानी सम्झौता गरिसकेको कम्पनीले थप ३१ वटा आयोजनाका लागि ऋणपत्रमार्फत ३० अर्ब रकम जुटाउँदै छ । गत आर्थिक वर्ष २०७४÷७५ सम्ममा कम्पनीले ५४१ मेगावाट क्षमताबराबरका १४ वटा आयोजनामा ७ अर्ब ८९ करोड ऋण लगानी सम्झौता गरिसकेको छ भने ५५१ मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजनामा कम्पनीले ४ अर्ब ७१ करोड रुपैयाँको सेयर खरिद गरेको छ । यसबाहेक बहुराष्ट्रिय दातृ संस्था विश्व बैंकमार्फत नेपाल सरकारलाई प्राप्त करिब ४ अर्ब ऋण सहयोग जलविद्युत लगानी तथा विकास कम्पनीमार्फत पाँचथरस्थित ३७.५ मेगावाटको काबेली ए जलविद्युत आयोजनामा लगानी भइरहेको छ ।
कम्पनीले पाँच वर्षे व्यावसायिक योजना बनाएर पुँजी संकलन थालेको हो । छरिएर रहेको पुँजीलाई एकत्रित गर्न र जलविद्युत आयोजनाहरुमा आक्रामक रुपमा लगानी गर्न पुँजी संकलन थालिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले जानकारी दिए । ‘हामीले अहिलेसम्ममा ११ अर्बभन्दा बढी ऋण सम्झौता गरिसकेका छौं,’ न्युज कारोबारसँग उनले भने, ‘आगामी व्यावसायिक योजना कार्यान्वयनका लागि ठूलो रकम आवश्यक पर्ने भएका कारण हकप्रद र ऋणपत्रमार्फत लगानी संकलन गर्न लागेका हौं ।’
एचआईडीसीएलले आउँदो पाँच वर्षमा जलविद्युत क्षेत्रमा थप ३० अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य लिएको छ । पाँच वर्षे व्यावसायिक योजना बनाएर ३ हजार २३८ मेगावाट क्षमताका ३१ आयोजनामा लगानी गर्ने गरी रकम संकलन थालिएको सीईओ पोखरेलले जानकारी दिए । कम्पनीको व्यावसायिक योजना सञ्चालक समितिले अनुमोदन गरिसकेको छ ।
कसरी जुटाइँदै छ पुँजी ?
जलविद्युत आयोजनाहरुमा ठूलो मात्रामा ऋण लगानी तथा सेयर खरिद गरेको कम्पनीले पुँजी बढाउनका लागि गत वर्षको नाफाबाट १० प्रतिशत बोनस वितरण गर्दै छ भने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यससँगै कम्पनीको चुक्ता पुँजी २१ अर्ब नाघ्नेछ ।
त्यस्तै, कम्पनीले ३० अर्ब रुपैयाँको ऊर्जा ऋणपत्र (पावर बन्ड) पनि निष्कासन गर्दै छ । जलविद्युत आयोजनामा लगानी जुटाउनका लागि कम्पनीले नयाँ वित्तीय उपकरणअन्तर्गत ऊर्जा ऋणपत्र बजारमा ल्याउन लागेको हो । कम्पनीले बैंक तथा वित्तीय संस्था, बिमा, संगठित संस्था र सर्वसाधारणलाई ऋणपत्र बिक्री गर्ने योजना बनाएको छ । पाँच वर्षका लागि निष्कासन गर्न लागिएको ऋणपत्रको ब्याजदर न्यूनतम ५ प्रतिशत हुनेछ । ऋणपत्रबाट प्राप्त हुने रकम कम्पनीले ४६४ मेगावाटको फुकोट कर्णालीलगायतका ठूला आयोजनामा लगानी गर्ने योजना बनाएको छ ।
प्रकाशित समय १५:३७ बजे

















