गृहपृष्ठ वाइडबडी जहाज खरिद प्रकरणको छानविनका लागि समिति गठन
वाइडबडी जहाज खरिद प्रकरणको छानविनका लागि समिति गठन
४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश
सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणको छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको छ ।
पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति गठन भएको हो । संसदीय लेखा समितिको उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेट मदन शर्मा सदस्य छन् ।
उक्त प्रकरणमा खरिद गरिएका दुईवटा एयरबस विमानका विषयमा जाँचबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनेछ ।
संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरेको थियो । निगमले वाइडबडी जहाज खरीद गर्दा चार अर्ब ३५ करोड अनियमितता भएको उपसमितिको ठहर छ ।
उपसमितिले जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र राष्ट्रियसभाका सदस्यसमेत रहेका पूर्वपर्यटन मन्त्री जितेन्द्र नारायण देव पनि दोषी देखिएको भन्दै कारबाहीको सिफरिस गरेको थियो । ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको उपसमितिले निष्कर्ष निकाल्दै भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि निर्देशन दिन पनि सिफारिस गरेको छ ।
उपसमितिको प्रतिवेदन गत बुधबार लेखा समितिको पूर्ण बैठकमा पेश गरिएको छ । वायुसेवा निगमले करिब २५ अर्ब रुपैयाँमा दुई एयरबस वाइडबडी विमान खरिद गरेको थियो ।
प्रकाशित समय ०७:५० बजे

















