गृहपृष्ठ अनसन नतोड्ने डा. केसीको अडान, देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
अनसन नतोड्ने डा. केसीको अडान, देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
जीवन रक्षाको पहलमै अन्योल
डाक्टर गोविन्द केसीको मागमा सुनुवाई नगरी राष्ट्रियसभाबाट पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि केसीको अनसन तोडाउने विषयमा अन्योल बढेको छ ।
पूर्वानुमान अनुसार राष्ट्रियसभाले विहीबार चिकित्सा शिक्षा विधेयक पारित गरेको हो । अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि यो विधेयक कानुन बन्छ । यता २४ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको अनसन तोडाउन भने सरकारले कुनै पहलकदमी लिएको छैन । अनसनको २४ दिनमा डा केसीको स्वस्थ्य अवस्था नाजुक बनेको छ । उनी पूर्वसहमति अनुसार चिकित्सा शिक्षा विधेयक संशोधन नभएसम्म अनसन नतोड्ने अडानमा छन् ।
राष्ट्रियसभाबाट बिहीवार विधेयक पास भएपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डा केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । उनले डा केसीलाई एकपक्षीय रुपमा भएपनि अनसन तोड्न आग्रह गरेका थिए । ज्यान नै तलमाथि पर्ने अवस्था आउँदासमेत सरकार डाक्टर केसीका मागमा संवेदनशिल नदेखिएको देउवाको भनाइ थियो । डा केसीले देउवालाई केही जवाफ दिन नसके पनि सहभागीहरुलाई भने अनसन नतोड्ने अडान दोहोर्याएका थिए ।
विधेयक पास हुनुअघि राष्ट्रिय सभामा सम्बोधन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा केसीको जीवनरक्षाप्रति सरकार प्रतिवद्ध रहेको बताएका थिए । तर, सरकारका प्रवक्ता, सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्ताको विषयको सट्टा अनसन तोडेर सिटामोल बोकेर जनतामाझ जान सुझाए । यसले सरकार तत्काल के गर्ने भन्ने विषयमै सरकार प्रष्ट नरहेको देखाउछ ।
नेपाल चिकित्सक संघको आन्दोलन
नेपाल चिकित्सक संघले शुक्रबारबाट देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएको छ । २४ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षामा सरकार उदासीन देखिएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संघ त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको छ । माग सुनुवाइ नभए अझै कडा निर्णय गर्न बाध्य हुने संघको चेतावनी छ ।
देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्न नरोके पनि ओपीडीलगायतका अन्य सम्पूर्ण सेवा बन्द हुने संघले बताएको छ । संघले वार्ता र संवादबाट तत्काल डा केसीको जीवन रक्षा र समस्याको समाधान खोज्न सरकारलाई आग्रहसमेत गरेको छ ।
त्रिवि शिक्षण अस्पतालले भने बन्द, हडताल निषेध गर्दै बन्द र हड्तालमा उत्रिने चिकित्सक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको बुझिएको छ ।
प्रकाशित समय ०९:५४ बजे

















