गृहपृष्ठ नेकपाले जनयुद्धको सम्झना गर्दै, प्रधानमन्त्री ओली भने सहभागी नहुने
नेकपाले जनयुद्धको सम्झना गर्दै, प्रधानमन्त्री ओली भने सहभागी नहुने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज जनयुद्ध दिवसको अवसरमा देशभर कार्यक्रम गर्दैछ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान साढे १० बजेपछि अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम तय भएको छ । नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीभने कार्यक्रममा सहभागी नहुने बताइएको छ । प्रधानमन्त्री ओली रोजगार कार्यक्रममा जानुपर्ने भएकाले पार्टी कार्यालयमा उपस्थित हुन नसक्ने जनाएको नेकपाले जानकारी दिएको छ ।
नेकपाले एकतापछि पहिलोपटक औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको हो । युद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा पहिलोपटक कार्यक्रम गर्न लागेको नेकपाले जनाएको छ । माओवादी घटक दलले फागुन १ गते मा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका छन् ।
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले काठमाडौंको शान्तिबाटिकामा कार्यक्रम गर्दैछ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शान्तिबाटिकामै जनयुद्ध दिवस मनाउने जनाएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भने जनयुद्ध दिवस नमनाउने निर्णय गरेको छ ।
प्रकाशित समय ०९:१३ बजे

















