गृहपृष्ठ टुकुटुकु हिँड्ने उमेरमा खुट्टा गुमेपछि…
टुकुटुकु हिँड्ने उमेरमा खुट्टा गुमेपछि…
आयुर्वेदिक ॵषधिको गलत प्रयोगले बालकको खुट्टा गुम्यो
अफ्ठ्यारो गरी खाटमा सुताइएको बालक रुन्छ । सायद खुट्टा काटिएको ठाउँ बेस्सरी दुख्यो होला । कोठा थर्किनेगरी छोरो रोएपछि बाबुआमा दुवै दौडिएर आइपुग्छन् ।
रविन बराइली १४ महिने छोरो काखमा बोक्छन् र फुल्याउन थाल्छन् । छोरोको देब्रे खुट्टो घुँडाभन्दा मुनि काटिएको छ । टुकुटुकु हिँड्नुपर्ने उमेरमा काटेको खुट्टोमा बाँधेको ब्यान्डेजमात्रै देख्दा पनि बाबुआमाको मन कति दुख्छ होला । यस्तै पीडामा छ, झापाको दमक नगरपालिका–३ का रविन दम्पती ।
‘टुकुटुकु हिँड्ने उमेरको छोरोको काटिएको खुट्टो देख्दा मन अमिलो भएर आउँछ,’ २९ वर्षीय रविन भन्छन्, ‘तर के गर्ने, भाग्यै यस्तै र’छ ।’ काटिएको खुट्टामा बालकलाई काखमा लिन र खाटमा सुताउन पनि निकै अफ्ठ्यारो हुन्छ ।
कसरी भयो यस्तो ?
बराइली परिवारमा मंसिर २४ गते श्रेयनको जन्मदिन भव्य रुपमा मनाउने तयारी भइरहेको थियो । अघिल्लो दिन श्रेयन कोक्रोबाट लडे । कोक्रोबाट लडेपछि तत्काल स्थानीय लाइफ लाइन अस्पताल लगियो । अस्पतालको छिचोलिनसक्नु भीडका बीच उनको खुट्टाको एक्स रे गरियो । उनको देब्रे तिघ्राको हड्डी भाँचिएको रहेछ ।
एकवर्षे बालकको खुट्टाको हड्डी भाँचिएको घटना निकै संवेदनशील थियो तर अस्पतालका कर्मचारी र डाक्टरले त्यसलाई गम्भीर रुपमा लिएनन् । ‘अस्पताल नै थर्काउने गरी श्रेयन रोइरहेको थियो तर अस्पतालका कर्मचारीले डाक्टर व्यस्त छन् पालो कुर्नुस भने घण्टौँ कुर्दासम्म कोही नआएपछि आयुर्वेदिक केन्द्रमा लैजान बाध्य भयौं,’ श्रेयनकी आमा ममताले भनिन् ।
श्रेयनको रोदन, अभिभावकको छटपटी र अस्पतालको बेवास्ताका बीच एकजनाले आयुर्वेदमा लैजान उनीहरुलाई सुझाव दिए । लगत्तै छोरो लिएर बराइली दम्पती स्थानीय राजकुमार लिम्बूको उपचार केन्द्रमा पुगे ।
आयुर्वेदिक केन्द्रका लिम्बूले भाँचिएको ठाउँमा जडिबुटीको औषधि भन्दै लेप लगाइदिए । त्यसपछि तिघ्रामा कसिलो गरी ब्यान्डेजसहित काम्रो बाँधिदिए । त्यसबापत उनले ३ हजार सेवा शुल्क लिए । बराइली दम्पती छोराको खुट्टो निको हुने भयो भन्ने विश्वासका साथ घर फर्किए । तर, सोही उपचार पद्धतिले श्रेयनको जीवनकाल उजाड बनाइदियो ।
‘उपचार गरेर गएको बेलुकादेखि नै बच्चाको खुट्टा सुन्नियो,’ रविनले भने, ‘बाँधेको भागदेखि तल्लो भागमा आगोले पोले जस्तो पानी फोका निस्कियो, फोन गरेर यस्तो भयो भन्दा बाँसका सिन्काले फोका फुटाउनु भनेर सल्लाह दिए ।’ तर, उनको चित्त बुझेन । भोलिपल्ट फेरि श्रेयनलाई लिएर उनी लिम्बूकहाँ गए ।
उपचारमा संलग्न लिम्बूले दबाइले काम गर्न थालेको र सुन्निएको घट्न दुई–तीन दिन लाग्ने भनी आश्वास्त पारेर पठाए । खुट्टाको अवस्था झन् बिग्रियो । औषधि लगाएर बाँधेको ठाउँदेखि तल पूरै कालो भयो । यति हुँदा पनि लिम्बूले ‘केही हुँदैन, ठीक हुँदै छ’ भन्न छाडेनन् । ‘जडिबुटीले यस्तो भएको हो, निको हुँदैछ भनिरहेको थियो तर हामी त्यो उपचारले बाबुको हालत झन् बिग्रियो भन्ने लागेर उपचारका लागि काठमाडौं आयौं,’ श्रेयनकी आमा ममताले भनिन् ।
मंसिर १९ गते काठमाडौं आएपछि सुरुमा कान्ति बाल अस्पतालमा देखाइयो । त्यहाँका डाक्टरले श्रेयनको खुट्टा हेरेपछि उपचार गर्न नसक्ने भन्दै फर्काइदिए । त्यसपछि छोरो लिएर बराइली दम्पती शिक्षण अस्पताल महाराजगन्ज पुगे । शिक्षक अस्पतालका चिकित्सक उपचार गर्ने वचन दिएपछि बच्चालाई भर्ना गरियो । एक्स रे, भिडियो एक्स रे गरेर हेरेपछि शिक्षण अस्पतालका डाक्टरले ‘बच्चाको खुट्टा काम नलाग्ने भइसकेको छ, हामी उपचार गर्न सक्दैनौं’ भनेपछि बराइली दम्पती छाँगाबाट खसेजस्तै भए ।
टुकुटुकु हिँड्ने उमेरको कलिलो छोराको खुट्टा काट्नुपर्छ भनेको सुन्दा दुबैजना सम्हालिन सकेनन् । उनीहरुलाई पत्याउनै गाह्रो भयो । त्यसपछि छोरालाई लिएर धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुगे । त्यहाँ पनि डाक्टरले खुट्टा काट्नुको विकल्प नभएको बताए । ‘डाक्टरले खुट्टा नकाट्दा बच्चाको ज्यान नै जोखिममा पर्नसक्ने बताएपछि आत्तियौं,’ ममताले भनिन्, ‘बच्चाको ज्यान बचाउन भए पनि खुट्टा काट्न तयार भयौं ।’
अन्ततः बालकको खुट्टा काटियो । श्रेयनको तिघ्राको हड्डी भाँचिएको थियो । उनको तिघ्रामा स्टिल राखेर अड्याइएको छ । घुँडामुनिको भाग काटिएको छ । तिघ्रा भाँचिएपछि आयुर्वेद केन्द्र सञ्चालकले घुँडामुनि कसेर बाँधिदिएकाले खुट्टा काट्नुपरेको अस्पतालले जनाएको छ । श्रेयनको खुट्टा काटिएपछि खबर गाउँमा पुग्यो । घर–परिवारमा रुवाबासी छायो । छरछिमेकीले सहानुभूति दिन आए । आफ्ना आफन्त दुःख बाँड्न आए । तर, बराइली परिवारले मन बुझाउन सकेका छैनन् ।
श्रेयनलाई आईसीयूबाट केही दिनअघिमात्र झिकिएको छ । ‘साधारण वार्डमा अझै दुई महिनाजति राख्नुपर्ने भए पनि रकम अभावमा डिस्चार्ज गरेका छौं,’ ममताले भनिन्, ‘अहिलेसम्म उपचारमा १५ लाख खर्च भइसक्यो, अस्पतालमा राख्ने पैसा नभएर घर ल्याएका हौँ, दिनदिनै फलोअपका लागि अस्पताल लैजानुपर्छ ।’
थप उपचारका लागि पैसा सकिएपछि बराइली परिवारमा चिन्तामाथि चिन्ता थपिएको छ । रविन ज्यालादारी मजदुर हुन् । दैनिक ४–५ सय कमाउँथे । तर, छोराको यस्तो अवस्था भएपछि काममा जान पाएका छैनन् । रविनकी पत्नी ममता गृहणी हुन् । गाउँघर छरछिमेकीले दिएको सहयोग र ऋण खोजेर जुटाएको पैसा सकिएपछि बाँकी उपचारबाट छोरालाई सञ्चो बनाउन उनीहरुले आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।
प्रकाशित समय १६:२४ बजे

















