गृहपृष्ठ सामाजिक सुरक्षा कोषमा १५ प्रतिशत कम्पनी मात्र दर्ता

सामाजिक सुरक्षा कोषमा १५ प्रतिशत कम्पनी मात्र दर्ता

तामझामका साथमा श्रमिकका लागि योगदानमा आधारित समाजिक सुरक्षा योजना घोषणा गरिएपनि रोजगारदाता कम्पनीले दर्ता गर्न आलटाल गरेका छन् । श्रमिकहरुमा खुसी ल्याएको समाजिक सुरक्षा योजना कार्यक्रममा दर्ता गर्नेपर्ने समयसीमाभित्र रोजगारदाता कम्पनी नगएका हुन् । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा तोकेको थियो ।

काठमाडौं उपत्यकाका ३ जिल्लाभित्रका रोजगारदाताहरु मंसिर ६ देखि फागुन ६ गतेभित्र कोषमा दर्ता हुनुपर्ने समयसीमा तोकिएपनि १ हजार ६ सय कम्पनी मात्र दर्ता भएका हुन् । यो भने कुल कम्पनी सख्याको करिव १५ प्रतिशत मात्र हो ।

काठमाडौं उपत्यकाभित्रका ३ जिल्लाका रोजगारदाताहरुलाई कोषमा दर्ता हुन आउन सरकारले दिएको समयसीमा सकिएपनि दर्ता गराउन पाउनेछन् । यद्यपि सुरक्षा कोषमा दर्ता नै नभए पनि बुझ्न आउने क्रम जारी रहेकाले केही समय थपिएको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले बताए ।

उनले न्यूज कारोबारसँग भने, ‘कतिपयलाई अझै यस बारेमा जानकारी नभएकोले बझ्न आईरहेका छन्, दर्ताको लागी समय थपेका छौँ, क्रमिक रुपमा सबै रोजगारदाताहरु आउछन् भन्ने लागेको छ ।’उपत्यकाबाहेक प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ भित्रको समयसीमा दिइएको छ ।

त्यसैगरी प्रदेश १ का रोजगारदाताले पुस १ देखि चैत १ सम्मको समयसीमा पाएका छन् । प्रदेश २ का रोजगारदाताले पुस १५ देखि चैत १५ सम्म र गण्डकी एवं प्रदेश ५ का रोजगारदाताले माघ १ देखि बैशाख १ गतेसम्मको समयसीमा पाएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाताले माघ १५ देखि वैशाख १५ भित्र सामाजिक सुरक्षा कोषमा निवेदन दर्ता गराउनुपर्ने गरी समयसीमा तोकिएको थियो ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु