गृहपृष्ठ गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह

गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह

yubaraj-khatiwoda फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोषमार्फत लगानी गर्न आग्रह गरेका हुन् ।

‘तपाईंका समस्या र सम्भावना छलफल गरौं भनेर म यहाँ आएको हुँ,’ अर्थमन्त्री खतिवडाले भने ।

नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताए । ठूलो मुलुकमा चेकजाँच हुदाँ सामान्य मानिने भए पनि त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको उनको भनाई छ ।

विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै सबै देशले पनि पुँजी खाता नियमन गर्ने व्यवस्था भएको उनले स्मरण गराए ।

करका दरहरु बढेका नभई सुधार गरिएको खतिवडाको जिकिर थियो । इतिहासमै पहिलो पटक यति धेरै आर्थिक वृद्धि हुने भन्दै उनले जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको दावी गरे ।

मुल्य वृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिक वृद्धि समग्रमा वैदेशिक व्यापार बाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरवासीय नेपालीलाई उनले स्पष्ट पारे ।

वैदेशिक व्यापार समस्या अहिले सृजना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको उनको भनाइ छ । विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए ।

२९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन गएका हुन् ।

सम्मेलनमा डा. खतिवडाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पुर्याउने उद्देश्य छ । । बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु