गृहपृष्ठ रंगेलीमा बढ्न थाले धार्मिक पर्यटक
रंगेलीमा बढ्न थाले धार्मिक पर्यटक
दक्षिण पूर्वी मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा धार्मिक पर्यटकको संख्या बढ्दै गएको छ । ऐतिहासिक तथा पौराणिक धार्मिक महत्व बोकेको सो मन्दिरमा श्रद्धापूर्वक पूजा अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वासका साथ श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।
पूजा अर्चना गरे देवीसँग गरेको भाकल पूरा हुने भन्दै सो मन्दिर दर्शन गर्न साताको हरेक मंगलबार र शनिबार नेपाल तथा भारतका टाढा टाढाबाट दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् । विराटनगरदेखि २२ किलोमिटर पूर्वमा रहेको रंगेली ७ स्थित चिसाङ खोलाको बगरमा रहेको संसारी माई मन्दिरको लामो इतिहास रहेको छ ।
निकै पुरानो काब्राको रुखमुनि मन्दिर रहेको छ । मंगलबार र शनिबार यस मन्दिरमा बली चढाउने भक्तजनहरुको समेत भीड लाग्दछ । अहिले सो मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको कलकत्ता, हरियाणा तथा सीमा नजिकका शहरहरुबाट समेत भत्तजनहरु पूजा अर्चनाका लागि आउने गर्छन् ।

झापा गौरादहकी वविता कालिकोटेले आफु सो मन्दिरमा १ दशक बढी समयदेखी वेला वेलामा आउने गरेको बताइन् । उनले सो मन्दिरमा पुगेर पुजा आरधना गर्दा आफ्ना दुख कष्ट समाप्त भएको र भाकल पुरा हुँदै आएको दावी गरिन् ।
उनले भनिन्, ‘म माताको मन्दिरमा १० वर्ष बढी समयदेखी वेलावेलामा दर्शन गर्न आउँछु । उहाँ आएर पुजा गरेपछि सँधै मेरा संकट दुख कष्ट टरेको छ । मातासँग मागेको कुरा पूरा पनि भएको छ, त्यसैले परिवारसहित माताको दर्शन गर्न मन्दिर आउँछु ।’
मन्दिरको दर्शनसँगै भारतबाट आएका धार्मिक पर्यटकहरु केहीदिन नेपालमै घुम्ने गरेको स्थानीयले बताएका छन् । मन्दिरमा भाकल गरेको ९० दिन भित्र भाकल पूरा हुने जनविश्वासका साथ मन्दिरमा दर्शन गर्न आउने गरेको भक्तजनहरु बताउँछन ।

संसारीमाई मन्दिरका पुजारी राजु अधिकारी सो मन्दिर पौराणीक रहेको बताए । उनले भने, ‘यो मन्दिरमा देख्नुभएका रुखका हाँगाहरु भुँई सम्मै लत्रिएका छन् । यो मन्दिर सयौं वर्ष पुरानो हो । यो रुखको फेदमुनी माता विराजमान हुनुहुन्छ र यहाँ जुनसुकै भत्तजनले मनोकांक्षा राख्दा ९० दिनभित्रमा पूरा हुन्छ । माताको धेरै नै शक्ति छ । आफ्ना भत्तजनहरुले मागेको पूरा गरिदिनुहुन्छ । त्यही भएर यहाँ दिनानुदिन भक्तजनहरुको संख्या बढ्दै गएको हो ।’
उक्त मन्दिरमा भाकल गरेर बोकाको बलीदिने र प्रसाद घर लैजान नहुने परम्परा रहेको छ । मन्दिर क्षेत्रमा पूजाआजासहित पिकनिक मनाउने उद्देश्यले समेत भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
अन्य दिनभन्दा मंगलबार र शनिबार मन्दिरमा हजारौं भक्तजनहरुको भीड लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यहाँ दिनहुँ भक्तजनहरु आउनुहुन्छ । तर पनि विषेश गरी मंगलबार र शनिबार चाँही अत्याधिक भीड लाग्ने गर्छ । अझ शनिबारका दिन त भीड नियन्त्रण गर्न नै हम्मे-हम्मे पर्छ । यहाँ भक्तजनले बली चढाउँछन् र प्रसाद आफन्तजनहरुसँगै ग्रहण गर्छन् । एक हिसाबले भन्ने हो भने पूजा अर्चनासहित भक्तजनहरुको पिक्निक जस्तो समेत हुन्छ ।’
अध्यक्ष श्रेष्ठले उक्त मन्दिर क्षेत्रमा विकास निर्माण र संरक्षण भक्तजनहरुको भेटीले हुँदै आएको बताए । उनले भने, ‘यहाँ केही संरचनाहरु बनाएका छौं । त्यो भक्तजनहरुले चढाएको भेटीबाटै हो । हामीलाई स्थानीय, प्रदेश र संघीय कुनै सरकारले ठोस रुपमा सहयोग गरेको छैन । भक्तजनहरुको भीड साप्ताहिक रुपमा बढ्दै जान थालेपछि प्रदेश सरकारले समेत उक्त मन्दिरको संरक्षण र सम्बर्द्धनमा ध्यान दिएको छ ।
केही महिनाअघि मात्र प्रदेशका मुख्यमन्त्री शेरधन राई सबै मन्त्रीहरुसहित सो मन्दिरमा दर्शनका लागि पुगेका थिए । उनले सो मन्दिरको विकासमा सरकारले सक्दो सहयोग गर्ने वाचन दिएका थिए ।




प्रकाशित समय १७:२० बजे

















