गृहपृष्ठ डाक्टर सडकमा, बिरामीको बिजोग
डाक्टर सडकमा, बिरामीको बिजोग
डा. गोविन्द केसीको अनसनपछि तंग्र्रिँदै गरेको स्वास्थ्य सेवा डाक्टर आन्दोलनले फेरि थला परेको छ । कर्मचारी समायोजन विधेयकविरुद्ध असन्तुष्ट सरकारी चिकित्सकको आन्दोलनले देशभरका सरकारी अस्पतालको सेवा प्रभावित भएको हो । देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेर डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामी भने निजी अस्पताल जान बाध्य भएका छन् ।

काठमाडौंको चाबहिलस्थित ओम अस्पताल, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल, धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा शुक्रबार अरु दिनको तुलनामा बिरामीको चाप धेरै छ । यस्तै, ललितपुरको अल्का, मेडिसिटी, सुमेरु अस्पतालमा पनि सरकारी अस्पतालबाट फर्किएका धेरै बिरामी पुगेका छन् । बिरामी धेरै जाने वीर अस्पताल, शिक्षण अस्पताल, गंगालाल अस्पताल, टेकुको शुक्रराज ट्रफिकल अस्पताललगायतमा उपचार सेवा बन्द भएपछि ती अस्पताल गएका बिरामी निजी अस्पताल जान बाध्य भएका छन् । सरकारी अस्पतालमा सस्तोमा सेवा पाउने भए पनि बिरामीले निजी अस्पतालमा महँगो शुल्क तिर्नुपरेको छ ।

बिरामी आक्रोशित
अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएपछि बिरामी र बिरामी कुरुवाले सास्ती खेप्नुपरेको छ । उनीहरुले चिकित्सकले बिरामीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै तत्काल क्षतिपूर्ति दिन माग गरेका छन् । शुक्रबार वीर अस्पताल पुगेका बिरामी र आफन्तले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकबाट भइरहेको भन्दै आक्रोश पोखे । ‘बिरामी र बिरामी कुरुवाको जीवन धरापमा पारेर चिकित्सकले पदीय दुरुपयोग गरे, अत्यावश्यक सेवा बन्द गर्ने यो महाअपराध गर्नु हुँदैन,’ वीर अस्पताल प्रांगणबाट बिरामी तथा आफन्तहरुको आक्रोश हो यो । उनीहरुले अस्पतालका सबै सेवा खुला गर्न माग गरेका छन् ।

उपचारका लागि अस्पताल पुगेका कतिपय सेवाग्राही त्यसै फर्किन बाध्य भएका छन् । बिरामी लिएर अस्पताल आएका अधिकांशले शुक्रबार ओपीडी सेवा बन्द भएको विषयमा जानकारी नभएको बताएका छन् । खुट्टामा घाउ लिएर अस्पताल पुगेका सिन्धुपाल्चोकका हरिबहादुर अधिकारीले बिरामीको उपचार छाडेर आन्दोलनमा जानु गलत भएको बताए । ‘अस्पताल बन्द गरेर चिकित्सकले बिरामीमाथि खेलबाड गर्न हुँदैनथ्यो, यस्तो काम आजबाट बन्द होस्,’ उनले भने ।

कर्मचारी समायोजनमा चित्त नबुझेको भन्दै सरकारी चिकित्सकहरु लामो समयदेखि आन्दोलनमा छन् । कर्मचारी समायोजनमा चिकित्सकलाई संघअन्तर्गत राख्नुपर्ने र देशभर चिकित्सक खटाउनुपर्ने माग सरकारी चिकित्सक संघको छ ।

पुस २९ गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकबीच कर्मचारी समायोजनको विषयमा छलफल गर्न वार्ता टोली गठन गरिएको थियो । तर, वार्ता टोलीले एक महिना बितिसक्दा पनि माग सम्बोधन नगरेको भन्दै उनीहरु माघ २७ गतेदेखि दोस्रोपटक आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्य सेवा ठप्प पार्ने विषयमा सरकारी चिकित्सक संघले गएको आइतबार पत्रकार सम्मेलन गरेर विरोधका कार्यक्रमबारे जानकारी गराएका थिए ।





तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १५:४८ बजे

















