गृहपृष्ठ एनसेलको मुख्य कार्यालमा बम बिष्फोट, १६ टावरमा आगजनी
एनसेलको मुख्य कार्यालमा बम बिष्फोट, १६ टावरमा आगजनी
सुरक्षा व्यवस्था कडा, एनसेल टावर सुरक्षा निगरानीमा
देशका विभिन्न स्थानमा एकैसाथ अज्ञात समूहले एनसेलको टावरहरुमा बम विस्फोट र आगजनीका घटना तीव्र पारेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टापरमा निरन्तर आक्रमण भएपछि देशेभरी रहेका टावरहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
वितेको २४ घण्टामा एनसेलको केन्द्रीय कार्यालयसहित झण्डै १६ वटा टावरमा आक्रमण भएको छ । शुक्रबार साँझ अज्ञात समूहले ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विष्फोट गराएपछि रातै भरी विभिन्न ठाउका टावरहरुमा आगजनी भए ।
अज्ञात समूहले जाजरकोट, बाग्लुङ कञ्चनपुर रुपन्देही, नुवाकोट, काभ्रे, रौतहट पोखरा, नवलपरासी, कपिलबस्तु अछामलगायतका जिल्लामा रहेका १६ टावरमा गएराति आगजनी गरेका छन् । एकपछि अर्को गर्दै एनसेलका टावरमा आगजनी र बम विस्फोटका घटना हुन थालेपछि गृह मन्त्रालयले देशभरको सुरक्षा व्यवस्था कडा पार्दै एनसेल टावरहरुमा निगरानी बढाएको हो ।
देशभरको सुरक्षा व्यवस्था कडा पारेको गृहमन्त्रालयका प्रबक्ता रामकृष्ण सुबेदीले बताए । देशभरका प्रहरी युनिटहरुलाई अलर्ट रहन निर्देशन दिएका छौं,’ प्रवक्ता सुवेदीले न्युज कारोबारसँग भने, ‘आक्रमण एनसेलका टावर लक्षित भएपछि देशैभरका उसका टावरमा विशेष निगरानी बढाएका छौं ।’
एनसेलको टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारबाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ । काठमाडौंबाट ६ जना पक्राउ परेका प्ररहीले जनाएको छ ।
कतिपय घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहको हात रहेको आशंका गरिए पनि हालसम्म पुष्टि हुन सकेको छैन । यस विषयमा विप्लव नेतृत्वको नेकपा पनि मौन छ । गृह मन्त्रालयले भने सबै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
कुन-कुन ठाँउका टावरमा आक्रमण भए ?
जाजरकोट, बाग्लुङ कञ्चनपुर रुपन्देही, नुवाकोट, काभ्रे रौतहट पोखरा नवलपरासी, कपिलबस्तु अछामलगायतका जिल्लामा रहेका १६ टावरमा गएराति आगजनी भएको छ ।
अज्ञात समूहले जाजरकोट, बाग्लुङ कञ्चनपुर रुपन्देही, नुवाकोट, काभ्रे रौतहट पोखरा नवलपरासी, कपिलबस्तु अछामलगायतका जिल्लामा रहेका १६ टावरमा गएराती आगजनी गरेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका-१ जुरेलीस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरी नायव उपरीक्षक स्याम खत्रीले आगोले टावरमा जडान गरिएका ७ वटा सोलार सेट पड्किएको जानकारी आएको बताए ।
यस्तै बागलुङका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ । बागलुङ नगरपालिका-७ मुलपानी, गल्कोट नगरपालिका-८ काँडेवाँस र निसीखोला गाउँपालिका-७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो ।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ ।
यसैगरी रुपन्देहीको गैडहवा गाउँपालिका-३ स्थित कटवामा पनि एनसेलको टावरमाथि आगजनी भएको छ । गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिए ।
यसैगरी कपिलबस्तुको वाणगङ्गा नगरपालिका-११ मईनारामा रहेको एनसेल कम्पनीको टावरमा आगजनी भएको छ । गए राति करीब १० बजेको समयमा भएको घटनापछि प्रहरीले दमकल लगेर आगो निभाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रहरीका अनुसार रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।
यता, गण्डकी प्रदेशस्थित कास्कीको पोखरामा पनि आगजनी भएको घटना सार्वजनिक भएको छ ।
काभ्रेमा पनि एनसेलको टावरमा आगजनी भएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो ।
यसैगरी गए राति पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ ।
यसैगरी नुवाकोटमा पनि एनसेलको टावरमा आगजनी भएको छ । विदुर नगरपालिका-२ मा रहेको सो टावरमा गए राति आगजनी भएको हो ।
उता, अछामको ढकारी गाउँपालिका-३ मा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी भएको छ ।
यस्तै अज्ञात समूहले शुक्रबार नै म्याग्दीका विभिन्न चार ठाउँमा रहेका एनसेलका रिपिटर टावरमा आगजनी गरेको छ । समूहले एनसेलको बेनी नगरपालिका-३ भकिम्ली सेले, मंगला गाउँपालिका-३ बरंजाझाँक्रेपानी, रघुगंगा गाउँपालिका-५ झिंको टोड्के र मालिका गाउँपालिका–१ निस्कोटस्थित टावरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १९:३६ बजे

















