गृहपृष्ठ प्रधानमन्त्री ओली केक काट्न व्यस्त, कार्यदल सदस्यले प्रतिवेदन बुझाउन पाएनन्

प्रधानमन्त्री ओली केक काट्न व्यस्त, कार्यदल सदस्यले प्रतिवेदन बुझाउन पाएनन्

kp oli birthday

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिनको कार्यक्रममा व्यस्त भएपछि शनिबार पार्टी एकतासम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउन पाएन ।

शनिबार परेको ६८ औं जन्मदिनमा प्रधानमन्त्री व्यस्त भएपछि कार्यदलका सदस्यहरुले प्रतिवेदन बुझाउन नपाएका हुन् । पार्टी एकीकरणका लागि गठित ९ सदस्यीय कार्यदललाई शुक्रबार नेकपाको सचिवालयले विघटन गरेको थियो ।

कार्यदल विघटन गरिएकोप्रति असन्तुष्टि जनाएको समूहले तयार पारेको प्रतिवेदन शनिबार अध्यक्षलाई बुझाउने तयारी गरेका थिए । एकीकरणको बाँकी कामका लागि गठित कार्यदल भंग भएपछि बहुमत सदस्यहरुले अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाउन लागेका हुन् ।

संगठनात्मक एकीकरण कार्यदल भंग गरिएपछि ९ सदस्य कार्यदलका ५ सदस्यले शनिबार साँझसम्ममा छुट्टै प्रतिवेदन बुझाउने तयारी गरेका थिए । तर, शनिबार प्रधानमन्त्री ओलीले समय नदिएपछि समूहले प्रतिवेदन बुझाउन पाएन ।

‘आज प्रधानमन्त्री ज्यूको बर्थडे छ । केक काट्ने परिवार आफन्तलाई समय दिनेलगायतका के के कार्यक्रममा व्यस्त हुनुभएको छ,’ कार्यदल सदस्य बेदुराम भुषालले भने, ‘प्रधानमन्त्री ज्यू व्यस्त हुँदा अहिलेसम्म प्रतिवेदन बुझाउन पाएका छौनौं ।’

कार्यदलमा रहेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे र भुसालसहित पाँचजनाले समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका हुन्  । उनीहरुसँग वर्षमान पुन र लेखराज भट्टको पनि सहमति छ । केही नेताको असहमतिबीच बैठकले एकीकरण प्रक्रियाका बाँकी काम सचिवालयबाटै टुंग्याउने निर्णय गरेपछि उनीहरुको असहमति थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी समितिले बनाएको कार्यदलले समय माग गर्दागर्दै भंग गर्न नहुने अडान राखेका थिए । कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले भने काम गर्न नसक्ने बताएका थिए ।

त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष ओलीको प्रस्तावमा समर्थन जनाउदै कार्यदल खारेज गर्न सहमति जनाएका थिए ।

पुसमा १३ गते सम्पन्न स्थायी समिति बैठकले संगठनात्मक एकीकरणको बाँकी काम, कार्य्विभाजन, पोलिटब्युरो गठनलगायत कार्यादेशसहित ९ सदस्यीय कार्यदल बनाएको थियो । १५ दिनभित्र प्रतिवेदन बुझाउन अध्यक्ष ओली र प्रचण्डले निर्देशन दिए पनि सात पटकसम्म बसेको बैठकले विधान परिमार्जनबाहेकका विषयमा छलफलै गर्न सकेको थिएन । त्यसपछि अपूरो प्रतिवेदन सचिवालयलाई बुझाएको थियो ।

प्रकाशित समय २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु