गृहपृष्ठ बिजुलीको अस्तव्यस्त तार भूमिगत बनाइँदै, ठेक्का भारतीय कम्पनीलाई
बिजुलीको अस्तव्यस्त तार भूमिगत बनाइँदै, ठेक्का भारतीय कम्पनीलाई
काठमाडौंमा अस्तव्यस्त रहेका बिजुलीको तार भूमिगत गरि वितरण प्रणालीलाई स्वचालित गर्ने ठेक्का भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडलाई दिइएको छ ।
नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतको तार भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिजलाई छनोट गरेको हो । महत्वाकांक्षी योजना मानिएको यो कामको लागि ठेकेदार छनौट भएपछि बिजुलीका तारको जालो व्यवस्थापन हुनेछ ।
प्राधिकरणले गत ६ फागुनमा बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनु पर्नेछ ।
कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको कामका लागि २ करोड ५५ लाख ८१ अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँ (करबाहेक)मा ठेक्का सम्झौता हुनेछ । मध्य तथा उत्तर काठमाडौं (महाराजगञ्ज)का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिए । प्राधिकरणले यसअघि अनुमानित लागतभन्दा महँगो दर आएपछि पुरानो टेण्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको थियो ।
पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने वागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा वालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।
प्रकाशित समय १५:२१ बजे

















