गृहपृष्ठ ट्रम्प–किमबीच आज रात्रिभोजसहितको वार्ता हुँदै
ट्रम्प–किमबीच आज रात्रिभोजसहितको वार्ता हुँदै
भियतनाममा अन्तर्राष्ट्रिय पत्रकारको भीड
अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच आज दोस्रोपटक शिखर वार्ता हुँदैछ ।
शिखर सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम भियतनामको हनोइ पुगिसकेका छन् । किम मंगलरबार बिहान हनोइमा पुगेका थिए भने ट्रम्प मंगलबार राति पुगेका हुन् । ट्रम्प र किमबीच आज रात्रिभोजसहितको वार्ता हुने बताइएको छ ।
दुई नेताहरुबीच शान्तिका लागि घोषणपत्रमा हस्ताक्षर हुने र अमेरिकाले नाकाबन्दी आंशिक रुपमा हटाउने लगायतका विषयमा सम्झौता हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको अनुमान छ ।
सहमतिका विषयलाई अन्तिम रुप दिने तयारी भइरहेको बताइएको छ । शीर्ष शान्तिको घोषणापत्रमा हस्ताक्षर र उत्तरमाथिको नाकाबन्दीका विषयमा दुई नेताबीच वन टु वन वार्ता हुने जनाएको छ । उनीहरु सँगै रात्रिभोजमा सहभागी हुने पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वन टु वन वार्तापछि दुवै नेताले आफ्ना दुई जना मुख्य सल्लाहकारलाई बैठकमा सामेल गराउने बताइएको छ ।
आजको बैठक भियतनामको समय अनुसार साँझ ६ः३० बजे सुरु हुनेछ । बिहीवार पत्रकार सम्मेलन, सहमतिमा हस्ताक्षर जस्ता गतिविधि हुने बताइएको छ । दोस्रो शिखर वार्ताको समाचार संकलनका लागि विश्वभरीका हजारौं पत्रकारहरु अहिले भियतनाम पुगेका छन् ।
मंगलबार राति हनोइ पुगेपछि अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै भियतनामी जनताको माया र स्वागतका लागि आभार प्रकट गरेका छन् ।
प्रकाशित समय ०८:५२ बजे

















